२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विश्व हिन्दु महासंघले धार्मिक र्‍याली गर्दै

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते १७:२०
विश्व हिन्दु महासंघले धार्मिक र्‍याली गर्दै

काठमाडौंः भदौ २८ गते धार्मिक र्‍याली हुने भएको छ । विश्व हिन्दु महासंघले आयोजना गर्ने र्‍याली शुक्रबार दिउँसो १ बजेबाट शुरू हुने महासंघकी कार्यकारी अध्यक्ष अस्मिता भण्डारीले जनाकारी दिइन् । बुधबार र्‍यालीकै विषयमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भण्डारीले र्‍याली माइतीघर मण्डलाबाट शुरू भइ बानेश्वरको अल्फाबिटा पुगेर कोणसभामा परिणत हुने बताइन् ।

उनले हाल देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन नसकेकाे भन्दै लोकतान्त्रिक भनिएको संविधानबाट समग्र नेपाली जनता, ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मावलम्बी र ९४ प्रतिशतभन्दा बढी ॐकार परिवारले अपनत्व महसुस गर्न नसकेको बताउँदै आपत्ति जनाइन् । यसकारण संविधान जारी हुँदादेखि नै विश्व हिन्दु महासंघले धर्म निरपेक्ष संविधानको चर्को विरोध गर्दै आएको जानकारी दिँदै उनले हालै बनेको सरकारको प्रमुख मुद्दा नै दुई ठूला पार्टीहरू मिलेर संविधान संशोधन गर्ने रहेकाले देशमा धार्मिक–सांस्कृतिक अतिक्रमणका समस्याहरू गम्भीररूपमा बढेर गएकाले त्यसलाई सम्बोधन गर्न सरकारलाई आग्रह गरिन् । 

उनले भनिन्, ‘धर्मान्तरण बढेको छ । बसुधैव कुटुम्बकमको उच्च आदर्श बोकेको वैदिक सनातन धर्मलाई क्षति पुर्‍याउन र नेपालीको मौलिक कला, संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित गर्न अवाञ्छित गतिविधिहरू दिनानुदिन बढिरहेका छन् । यसै सन्दर्भमा विश्व हिन्दु महासंघले एक धार्मिक र्‍यालीको आयोजना गरी हिन्दु ॐकार परिवार एकजुट भइ नेपाल सरकारको ध्यानाकर्षण गराइ संविधान संशोधन गरी हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि दबाब दिने निर्णय गरेका छौं ।’

यसैगरी, सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जवराले पनि धर्मान्तरणको विषयमा सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । आफूले पनि हिन्दु अधिराज्य स्थापनाका लागि पटक–पटक संसदमा बोल्दै आएपनि त्यसको सुनुवाइ नभएका कारण महासंघसँग मिलेर हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि राप्रपा पनि सडकमा उत्रिन बाध्य भएको औंल्याए ।

उनले भने, ‘राष्ट्रको प्रगति र उन्नतिको लागि धर्म पुनर्स्थापना गर्न खोजेको हौं । यो मुद्दाले जबसम्म सम्बोधन पाउँदैन तबसम्म राप्रपा पनि चुप बस्दैन ।’ साथै उनले समयमै सनातनीहरूको माग सम्बोधन नभए यस अभियानले उग्ररूप लिने चेतावनी पनि दिए । 

सम्मेलनमा अध्यक्ष भण्डारी, सांसद जवरासहित, महासंघको राष्ट्रिय समितिका उपसभापति अरूण पाण्डे, महासंघका धार्मिक क्षेत्रको समन्वयकर्ता लीलानाथ चौलागाईंलगायत विभिन्न संस्थाका सदस्यहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise