२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

स्पेनका लागि प्रस्तावित राजदूत नेपालले ल्याए चार नवीन अवधारणा 

ADV
मध्यान्ह
२०८१ भदौ २७ गते २१:२२
स्पेनका लागि प्रस्तावित राजदूत नेपालले ल्याए चार नवीन अवधारणा 

काठमाडौं : स्पेनका लागि प्रस्तावित नेपाली राजदूत शनिल नेपालले चार नवीन अवधारणा प्रस्तुत गरेका छन् । संसदीय सुनुवाइ समितिमा बिहीबार उनले स्वदेशमै बसेर वैदेशिक रोजगारी, स्वयंसेवक पर्यटक, समुन्द्रदेखि सगरमाथासम्म र टिम युरोपको अवधारणा प्रस्तुत गरेका हुन् । 

उनले पेश गरेको १६ पृष्ठ लामो कार्य योजनामा उल्लेखित यी चार अवधारणाको सांसदहरुले प्रशंसा गर्दै रुची र कौतुहलताका साथ थप प्रष्ट पार्न आग्रह गरेका थिए । 

सांसदहरु प्रकाश अधिकारी, महेश बर्तौला, डिपी अर्याल, भगवती न्यौपाने लगायतले युवा कूटनीतिज्ञ शनिलका नयाँ–नयाँ अवधारणाको खुलेर प्रशंसा गर्दै कार्यान्वयनमा सफलताका लागि शुभकामना दिए । 

सांसद बर्तौलाले भनेका थिए, ‘युवा कूटनीतिज्ञको रुपमा उदाउँदै गरेका नेपालले पेश गरेका योजनाहरु पुराना र अनुभवीका भन्दा धेरै राम्रो लाग्यो, अहिलेसम्म पेश भएका कार्ययोजनाहरुमध्ये यो कार्ययोजना उत्कृष्ट तीन भित्रमा पर्दछ ।’ 

सांसद अधिकारीले नयाँ–नयाँ अवधारणाहरु पेश गरेकोमा खुशी व्यक्त गर्दै ती अवधारणाहरुबारे थप प्रष्ट पार्न आग्रह गरेका थिए । 

सांसदहरुको आग्रहपछि प्रस्तावित राजदूत नेपालले युरोपियन युनियनका मुलुकहरुमा रहेका नेपाली राजदूतहरुको संयुक्त पहलमा साझा उद्देश्य प्राप्तिका लागि निरन्तर सामुहिक प्रयास गर्न टिम युरोपको अवधारणा ल्याइएको जानकारी दिए ।

‘कतिपय विषयमा एक्लाएक्लै काम गर्दा नतिजा नआउन सक्छ, तर सबैले संयुक्त पहल गर्दा प्रभावकारी हुनसक्छ भन्ने ठानेर यो अवधारणा ल्याएको हुँ,’ उनले सुनुवाइका क्रममा भने ।  

उनले पेश गरेको‘देशमै बसेर वैदेशिक रोजगारी’भन्ने अर्को नयाँ अवधारणाप्रति पनि सांसदहरुको चासो र रुची देखिएको थियो । सूचना प्रविधि क्षेत्रमा नेपालको बढ्दो सम्भावना देखिँदै गएकाले नेपालीलाई नेपालमै बसेर अनलाइनबाट गर्न मिल्ने विदेशको कामहरु उपलब्ध गराउन स्पेनका व्यावसायीहरुसँग समन्वय गर्ने अवधारणा बनाएको उनको भनाइ छ । 

नेपालमा आइटीको राम्रो सम्भावना रहेको कुरा उजागर गर्दै सूचना प्रविधिको क्षेत्रमा काम गर्ने स्पेनका उद्यमी र लगानीकर्ताहरुलाई नेपालमा लगानी र नेपालीलाई नेपालमै बसेर गर्न मिल्ने काम दिन प्रोत्साहित गर्ने पनि उनले कार्ययोजनामा समावेश गरेका छन् ।

प्रस्तावित राजदूत नेपालले ‘समुद्रदेखि सगरमाथासम्म’भन्ने अभियान सञ्चालन गर्दै वर्षेनी हजारौंको संख्यामा पर्यटकहरु नेपालसम्म ल्याउन र नेपालका हिमशिखरहरुको प्रचार–प्रसार गर्ने योजना पनि प्रस्तुत गरेका थिए । उनले पेश गरेको चौथो नवीन अवधारणामा‘स्वयंसेवी पर्यटन’रहेको छ । स्पेनका विद्यालय तथा विश्वविद्यालय र शैक्षिक संस्थाहरुबाट विदा मनाउन र स्थलगत अध्ययनका लागि विद्यार्थीहरुलाई स्वयंसेवकको रुपमा नेपाल ल्याउने उनको अवधारणा छ ।

विदेशी विद्यार्थीहरु नेपालमा आएर निश्चित समयसम्म स्वयं सेवा गर्न वा अध्ययन विदा मनाउन रुची राख्ने भएकाले यसको सम्भावना अत्यन्त धेरै रहेको उनको भनाइ छ । 

यसअघि पोर्चुगलका लागि सिफारिस भइ नियुक्त समेत भएका पूर्वराजदूत नेपाल सत्ता गठबन्धन भएपछि फिर्ता बोलाइएका थिए । पोर्चुगलका लागि पनि अति राम्रो कार्ययोजना प्रस्तुत गरेको भनेर प्रशंसा पाएका शनिलले अहिले पनि नयाँ–नयाँ अवधारणा पेश गरेर आफूलाई फरक पहिचान दिलाउन सफल भएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise