२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

चाडपर्वको समयमा बजार अनुगमन तीव्र पारिन्छ : मुख्यसचिव अर्याल

ADV
मध्यान्ह
२०८१ भदौ २८ गते १८:१९
चाडपर्वको समयमा बजार अनुगमन तीव्र पारिन्छ : मुख्यसचिव अर्याल

काठमाडौंः नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले चाडपर्वको समयमा बजार अनुगमनको विषयलाई प्रथमिकतामा राख्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालको आयोजनामा ‘बजारको सुशासनमा देखिएका चुनौती र हाम्रो दायित्व’ विषयक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले चाडबाडको समयमा बजार अनुगमनलाई तीव्रता दिइने बताएका हुन् । 

यस्तै उनले चाडबाडको समयमा चर्को मूल्य वृद्धि गर्ने र खाद्यान्नमा मिसावट गर्ने व्यापारीहरुलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्ने बताए । जनताका लागि सुशासन कायम गर्ने सम्बन्धमा कसैले अवरोध सिर्जना गरे सरकारलाई खबर गर्न आग्रह गर्दै मुख्यसचिव अर्यालले आफूले यस विषयमा तत्काल एकसन लिने पनि बताए । जनताले चाहेअनुरुपको सुशासन वास्तवमै सरकारले कायम गर्न नसकेको बताउँदै उनले अबका दिनमा भने सरकारले सुशासन कायम गर्ने जिम्मेवारी वहन गर्ने आश्वासन दिलाए ।

यस्तै उनले चाडपर्वमा लामो दुरीमा यात्रा गर्ने यात्रुहरुलाई टिकट लिएर मात्र यात्रा गर्न आग्रह गरे । उनले भने, ‘टिकट लिने सम्बन्धमा विचौलीयाको प्रयोग गरेर उपभोक्तालाई मार पार्ने गरिन्छ । यस्तो हुने चाडपर्वको बेला मात्र होइन, हरु समयमा पनि हुन्छ ।’ यस विषयमा यातायात व्यवासायीहरुसँग पनि छलफल भएको भइसकेको बताउँदै उनले  व्यवासायीहरु चाडपर्वको बेला भाडा समायोजन नगर्न पनि आग्रह गरिसकेको जानकारी दिए । विभिन्न राजमार्गममा भएका खाडलाई पुर्ने र पहिरो पन्छ्याउने काम समयमै गरी यातायातलाई सुव्यस्थित गर्ने विषयमा कसरत भइरहेको पनि उनले बताए ।

यस्तै, कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले चाडबाडको समयमा शान्ति सुरक्षा, आपतकालीन सेवा र ट्राफिक नियममा रहेर यात्रुलाई गन्तव्यसम्म पुर्‍याउने गरी प्रहरी प्रशासनले तयारी गरिरहेको बताइन् । साथै चाडपर्वमा चोरी र लुटपाटजन्य खपराध पनि बढ्ने भएकाले यसमा सबै सचेत बन्नुपर्नेमा उनले जोड दिइन् । 

नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशीले विभागले सधैँ बस्तुको गुणस्तरीयतालाई प्राथमिकतामा राख्ने गरेको बताइन् । उनले विभागले दिने समानहरुमा गुणस्तरको प्रमाणस्वरुप चिन्ह राखिने भएकाले यसमा संका नगर्न आग्रह गरिन् । साथै समय–समयमा बस्तुहरुको गुणस्तरीयता जाँच गर्न विभागबाट आकस्मिक निरीक्षण भइरहने पनि उनले जानकारी दिइन् । 

यसैगरी सञ्चार केन्द्रका अध्यक्ष गोबिन्दप्रसाद चौलागाईंले सरकारले बजारका समस्या समाधान गर्ने अपेक्षा राख्दै खाद्य पदार्थमा हुने मिसावट, मूल्य वृद्धि र औषधिको गुणस्तरीयता लगायतका विषयमा सरकार गम्भिर हुनुपर्ने भनाइ राखे । 

तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मुख्यसचिव अर्याल र प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यसहित काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णलगायतको उपस्थिति रहेको थियो ।
 

ADVADV

सम्बन्धित खबर

Advertise