२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

प्रज्ञा प्रतिष्ठानमा ‘अछामी साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श

ADV
मध्यान्ह
२०८१ भदौ २८ गते २१:०५
प्रज्ञा प्रतिष्ठानमा ‘अछामी साहित्यको वर्तमान अवस्था’ विषयक विमर्श

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको ‘मातृभाषा साहित्य’को १४औँ शृंखलाको ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । 

कार्यक्रममा ‘अछामी साहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र डा.हर्कबहादुर शाहीले प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै शाहीले अछामी साहित्यको परिचय,नेपाली भाषासँगको बोधगम्यता, ऐतिहासिक, राजनीतिक र सामाजिक मान्यता,अनुसन्धान, नाम र मूल स्थानिक, क्रिया र विशेषणका बीच संगति र अछामी भाषाको साहित्यिक अवस्थाका बारेमा आफ्नो अनुसन्धानात्मक दृष्टिकोण राखेका थिए । प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यपत्रबारे आफ्नो दृष्टिकोण राख्दै प्रज्ञा प्रतिष्ठानले सिर्जनशील र अनुसन्धानात्मक कार्यका लागि अवसर प्रदान गर्न सकिने बताए । 

अछामी भाषा र साहित्यको बारेमा डा.हर्कबहादुर शाहीले महत्वपूर्ण आधारभूत कुराहरू उल्लेख गरेकोमा कुलपति राईले चर्चा गरेका थिए । 

उनले नेपालमा गणतन्त्र स्थापना भएपछि प्रत्येक जातजातिका भाषाभाषी सूचीकरण भएकोमा खुसी व्यक्त गर्दै प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभागमार्फत भाषा अभियानमा छ, यही अभियानले नै मातृभाषाबीच सहकार्य भइरहेको बताए । 

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपालमा बोलिने भाषा र भाषिकाहरूको मूलमर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताए । 

कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य,साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा नेपालको गतिलो सम्पत्ति भएको चर्चा गर्दै डा.हर्कबहादुर शाहीले प्रस्तुत गरेको अछामी भाषा र साहित्यको अवस्था विषयक कार्यपत्रले ठूलो प्रभाव पार्ने बताए । 

प्राज्ञ मुकारुङले मातृभाषा साहित्यको बहसले सबैलाई उत्साहित पारेको उल्लेख गर्दै आगामी असोज १८ गते शुक्रवार खालिङ भाषा साहित्य बारे बहस हुने बताए । उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट डा.सोम धिमाल,शिवप्रसाद जोशी,भूपध्वज,यासेली र शाक्य सुरेनले आ–आफ्नो जिज्ञासा राखेका थिए । 

कार्यक्रममा कलाकार हिरन राईले ‘बिनायो र पात’ बजाएर रैथाने बाजाको धुन प्रस्तुत गरेका थिए । कार्यक्रममा ल्होमीभाषाको कविता छेजाप ल्होमी,जिरेल भाषाको कविता टीकाभक्त जिरेल र नेपाल भाषाका कवि दिव्या बज्राचार्यले कविता प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन प्राज्ञ चेतनाथ धमलाले गरेका थिए । 

ADVADV

सम्बन्धित खबर

Advertise