२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

चारबुँदे सहमतिपछि गाउँपालिका अध्यक्ष यादवले तोडे अनशन

ADV
मध्यान्ह
२०८१ भदौ २९ गते ११:२१
चारबुँदे सहमतिपछि गाउँपालिका अध्यक्ष यादवले तोडे अनशन

नवलपरासी : नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन् ।

हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उनले अनशन तोडेका हुन् । अध्यक्ष यादवले गत शुक्रबार दिउँसोदेखि अनशन सुरु गरेका थिए । 

चारबुँदे सहमतिपत्रमा अध्यक्ष यादव र हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका प्रमुख हेमबहादुर एसीले हस्ताक्षर गरेका छन् ।

उक्त सहमतिपछि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले जुस खुवाएर अध्यक्ष यादवको अनशन तोडाएका हुन् ।   

सहमतिअनुसार आगामी असोज २ गतेदेखि तीव्रगतिमा निर्माण सुरु गरी दसैँ अगाडि गोपिगञ्जदेखि बेलाटारी क्षेत्रमा पर्ने तीन किलोमिटर बेस निर्माण गर्ने र दसैँ लगत्तै उक्त क्षेत्रमा कालोपत्र सुरु गर्ने उल्लेख छ ।

साथै निर्माण व्यवसायीलाई तत्काल कार्यतालिका पेस गर्न लगाइ थप गरिएको समय २०८१ साल चैतसम्म बेलाटारीसम्मको सडकखण्डलाई विशेष प्राथमिकता राखी निर्माण सम्पन्न गर्ने सहमतिमा उल्लेख छ ।

सहमतिअनुसार काम नभए प्रमुख जिल्ला अधिकारीले निर्माण व्यवसायी ब्रजगुरु महालक्ष्मी जेभी कम्पनीलाई कारबाही गर्ने र ठेक्का रद्दको प्रक्रिया अगाडि बढाइनेछ ।

त्यसैगरी सहमतिपत्रमा हुलाकी आयोजनाअन्तर्गत पर्ने बेलाटारी-कठहवासम्मको सडक निर्माणलाई तीव्रताका साथ समयावधिभित्र सम्पन्न गर्ने उल्लेख छ ।

प्रदेश सरकार मातहतमा रहेका अलपत्र सडक आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि सबै राजनीतिक दलका प्रमुखहरूले पहल गर्ने समेत प्रतिबद्धता जनाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise