२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

समाजसेवी चार संस्थालाई पाँच लाखको पुरस्कार

Nada
२०८१ भदौ ३० गते १२:३०
Shares
समाजसेवी चार संस्थालाई पाँच लाखको पुरस्कार

काठमाडौं : रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०८१ को पाँच लाखको पुरस्कार चार संस्थालाई प्रदान गरेको छ । 

ncell

सबैभन्दा ठूलो नगद २ लाख रुपैयाँ र सम्मानपत्र सहितको रामबाबु ज्ञानु सामाजिक सेवा पुरस्कार नेपालगञ्जको नीलसागर सेवाश्रमका लागि संस्थापक अध्यक्ष सरिता खनाललाई अर्पण गरिएको छ । विसं २०७३ सालमा दर्ता भएको यस संस्थाले वृद्धवृद्धा, शारीरिक तथा मानसिकरूपमा कमजोर व्यक्तिहरूलाई भोजन, आवास, औषधि उपचारको प्रबन्ध गरी मर्यादित जीवनको अवसर प्रदान गर्नुका साथै अनाथ बालबालिकाको संरक्षण गर्दै शिक्षादीक्षाको प्रबन्ध मिलाएकाले पुरस्कृत गरिएको कोषका अध्यक्ष ध्रव नेपालले जानकारी दिए । 

यसैगरी जनही १ लाख नगदसहित सम्मानपत्र रहने रामबाबु ज्ञानु समाजसेवी पुरस्कार इटहरीको माया घर नेपालका लागि अध्यक्ष सुभद्रा प्याकुरेल, काठमाडौं गोकर्णेश्वरको अपाङ्ग पुनर्स्थापना केन्द्रका लागि अध्यक्ष उदयबहादुर लिम्बू र काठमाडौं टोखाको हाम्रो बाल संरक्षण धरोहर नेपालका लागि अध्यक्ष विनिता अर्याललाई प्रदान गरिएको थियो । यी संस्थाहरुले पनि वृद्धवृद्धा, शारीरिक तथा मानसिकरूपमा कमजोरलाई आश्रय, भोजन र औषधि उपचारको प्रबन्ध गर्नुका साथै अनाथ बालबालिकाको संरक्षण र शिक्षादीक्षाको प्रबन्ध गर्ने र सचेतनामूलक कार्यहरू गर्दै आएका छन् । 

पुरस्कार वितरण समारोहमा पूर्वमुख्यसचिव डा. विमल कोइरालाले उनीहरुलाई पुरस्कृत गरेका थिए । पुरस्कृत हुनेहरुको छनोट पाँच सदस्यीय स्वतन्त्र समूहले गरेको थियो । 

निजामती सेवाबाट अवकास प्राप्त पाल्पाका रामबाबु नेपाल र उनकी पत्नी ज्ञानु नेपालले आफ्ना मातापिता शोभाकान्त नेपाल र सुशीला नेपालको पुण्यस्मरणमा २०७० सालमा स्थापना गरेको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले २०७१ सालदेखि दुई लाख रुपैयाँको पुरस्कार र सम्मान–पत्र प्रदान गर्दै आएकोमा २०७४ देखि ४ लाख रुपैयाँको पुरस्कार र सम्मान–पत्र प्रदान गर्न थालेको थियो । यस वर्ष फेरि १ लाख रुपैयाँको पुरस्कार थप गरी ५ लाख रुपैयाँ पुरस्कार प्रदान गर्न थालेको अध्यक्ष नेपालले जानकारी दिए ।

सम्बन्धित खबर