२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा

ADV
मध्यान्ह
२०८१ भदौ ३० गते १२:५३
व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा

तनहुँः जिल्लाको व्यास नगरपालिकाले चौबीसै घण्टा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी अवस्थामा राखिएको हो । 

नगरपालिकाका अनुसार केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शववाहन, डोजर, ब्याकलोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’लगायत सामग्री तयारी अवस्थामा राखिएको छ ।

आपत्कालीन अवस्थामा खोज, उद्धार र राहत, प्राथमिक उपचार र क्षतिको लेखाजोखाजस्ता अत्यवाश्यक सेवा सुनिश्चिताका लागि केन्द्र सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए ।

उनका अनुसार यसका लागि २० जना नगर प्रहरीलाई तालिम प्रदान गरिएको छ । एक जना नगर प्रहरी कर्मचारीलाई पालो गरी ड्युटीमा खटाइनेछ । विपद्को जोखिमलाई न्यूनीकरण गर्दै प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपले सर्वसाधारणको जनधन, सार्वजानिक तथा निजी सम्पत्तिमा हुनसक्ने क्षतिलाई मध्यनजर गरेर केन्द्र सञ्चालनमा ल्याइएको हो ।

एम्बुलेन्स, दमकल, शवबाहन सबै निःशुल्क प्रयोग गर्छौं, विपद्का बेला तत्काल उद्धार गर्नेगरी संयन्त्र तयारी अवस्थामा राखिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार सवारी दुर्घटना, आगलागी, बाढीपहिरो र अन्य विपद्बाट हुने क्षति कम गर्न नगरपालिकाले पूर्वतयारी गरेको हो ।

‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहकार्य गर्नेगरी आपत्कालीन केन्द्रको व्यवस्थापन गरिएको हो’, उनले भने, ‘आवश्यक साधन र कर्मचारीलाई दमौलीस्थित प्रमुख प्रशासकीय भवनमा व्यवस्थापन गरिएको छ ।’

जुनसुकै ठाउँमा जुनसुकै बेला विपद् आइलाग्न सक्ने हुँदा त्यसबाट बच्नका लागि पूर्वतयारी गरिएको हो । उनका अनुसार केन्द्रका लागि आवश्यक पर्ने सामान दुईवटा छुट्टछुट्टै स्थानमा राखिएको छ । केन्द्रबाट चौबीसै घण्टा सेवा प्रदान हुनेगरी व्यवस्थापन गरिएको विपद्का लागि ०६५–५६३०३४ नम्बरको टेलिफोनको व्यवस्था गरिएको छ । विगत केही वर्षअघि नै स्थापना गरिएको उक्त केन्द्र स्रोत र साधनको अभावले गर्दा निष्क्रिय थियो । 
 

ADVADV

सम्बन्धित खबर

Advertise