२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

ADV
मध्यान्ह
२०८१ भदौ ३१ गते १२:३४
लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

लुम्बिनीः लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बैठकले आयोगको सदस्यमा रोल्पा परिवर्तन गाउँपालिका–६ निवासी डा सुदनकुमार वली, दाङ घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रुपन्देही बुटवल उपमहानगरपालिका–१८ निवासी शान्तादेवी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।

यस्तै बैठकले दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र गाउपालिका–४ चिराघाटबाट परिवर्तनगरी जुम्लेकुलामा तोक्न नेपाल सरकारसमक्ष सिफारिस गरेर पठाउने निर्णय गरेको छ । गाउँपालिकाको १५औँ गाउँसभाको दुई तिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय भएको थियो । 

यस्तै गुल्मीको मुसिकोट नगरपालिका र जापानको ओइता प्रिक्याक्चर, बुङ्गोओनो सहरबीच भगिनीसम्बन्ध कायम गर्न आवश्यक निर्णयका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पन्थीले जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise