२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सच्याउनुपर्ने गल्तीहरू

ADV
२०८१ असोज ३ गते ०६:५५
सच्याउनुपर्ने गल्तीहरू

पार्टी घोषणा गरेको छोटो अवधिमै अप्रत्यासित मत पाएर राष्ट्रिय शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलोपटक राष्ट्रिय भेला गरेको छ । प्रज्ञाभवन काठमाडौंमा बुधबार सम्पन्न राष्ट्रिय भेलामा देशभरबाट प्रतिनिधि आएका थिए । ती प्रतिनिधिहरुसँग सभापति रवि लामिछानेले पार्टी बनेको तीन वर्षभित्रै हुनुपर्ने सबै कुरा भएको बताएका थिए । सभापति लामिछानेको निष्कर्ष गलत छैन । टेलिभिजन प्रस्तोताको जागिर छोडेर लामिछानेले घोषणा गरेको रास्वपा आमचुनाव–२०७९ मै राष्ट्रिय शक्ति बन्यो । माओवादी केन्द्रसँग समानुपातिक मत बराबर ल्याएको रास्वपा २१ सिट सहित प्रतिनिधि सभामा चौथौं ठूलो शक्ति बन्यो । यही शक्तिको जगमा सभापति लामिछाने दुईपटक उपप्रधानमन्त्री सहित गृहमन्त्री बने । पार्टीका अरु सांसदहरु मन्त्री भए । 

तर दुवैपटक रास्वपा सहभागी भएको सत्ता समीकरण लामो समय टिक्न सकेन । अरु सत्ता साझेदार दलकै कारण रास्वपा सरकारबाट बाहिरिनु पर्‍यो । तर आरोप रास्वपा र यसका नेता लामिछानेमाथि पनि लाग्यो । सत्ताको लोभमा परेर दोहोरिएर सरकारमा गएको आरोप सभापति लामिछानेले खेपे । सत्ता स्वार्थको लोभ मात्र नभएर दुवैपटक सरकारबाट बाहिरिदै गर्दा सभापति लामिछाने व्यक्तिगत समस्यामा दोषी ठहरिएका छन् । पहिलोपटक नागरिकता परित्याग गरी अमेरिका गएको मुद्दामा दोषी ठहरिएका थिए । तर राहदानी दुरुपयोगको आरोपमा बच्दै अगाडि बढेका थिए । दोस्रोपटक सरकारबाट बाहिरिदा उनी सहकारी बचत रकम अपचलनको मुद्दामा तानिएका छन् । संसदीय विशेष छानबीन समितिले लामिछानेलाई बचत रकम अपचलनमा कारबाही गर्न सिफारिस गरेको छ । 

तर पहिलोपटक देशभरका प्रतिनिधि बोलाएर लामिछानेले आफू निर्दोष सावित भएको घोषणा गरे, सहभागीलाई ताली बजाउन लगाए । सहकारीको रकम अपचलनबाट आएको पैसालाई आफूले खर्च मात्र गरेको निष्कर्ष सुनाए । पुरानै शैलीमा केही कुनै गल्ती नगरेको र आउने चुनावबाट पुराना दलहरुलाई बढार्ने घोषणा गरे । एउटा पार्टी बनाउने लक्ष्य लिएका नेताका दृष्टिले हेर्दा लामिछानेले गरेको भेला, निर्णयदेखि घोषणाहरु अस्वभाविक होइन । किनकि समर्थकहरुको मनोबल बलियो भएन भने पार्टीमा आकर्षण नआउन सक्छ । त्यसैले एउटा रणनीति अन्तर्गत बोल्दा सभापति लामिछानेले कुनै गल्ती नगरेको, निर्दोष रहेको जस्ता शब्द प्रयोग गर्न सक्छन् । तर तथ्य फरक छ । जनताले पुराना दलहरुको विकल्पमा रोजेको रास्वपा र सभापति लामिछानेमा सानोतिनो रुपान्तरणले अस्तित्व जोगाउन कठिन छ । आउने चुनावसम्म यो पार्टी टिक्न र चुनावबाट थप शक्ति आर्जन गर्ने हो भने गल्ती कमजोरी सच्याउने हिम्मत राख्नुपर्छ । एउटा गल्ती छोप्न अर्को गल्ती गर्ने होइन । 

ADVADV

सम्बन्धित खबर

Advertise