२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

दशैंलक्षित सहुलियत पसल खुल्यो, खसीबोका र च्याङ्ग्रा घटस्थापनाबाट बिक्री गरिने

ADV
छबि सापकोटा
२०८१ असोज ३ गते २१:००
दशैंलक्षित सहुलियत पसल खुल्यो, खसीबोका र च्याङ्ग्रा घटस्थापनाबाट बिक्री गरिने

काठमाडौं : सरकारले दशैं, तिहार र छठ पर्व लक्षित गरेर सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालनमा ल्याएको छ ।

सहुलियत पसलको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बिहीबार उद्घाटन गरेका हुन् । सहुलियत पसलका देशभर ४२ जिल्लाका ६३ वटा बिक्री कक्ष राखिएको छ । आगामी माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपाने सुुवेदीले जानकारी दिएकी छन् । 

सहुलियत पसलहरुमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध हुनेछ । सहुलियत पसलबाट चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ छुट छ भने तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, सिमी, गेडागुडी, फापर दाना लगायतमा उपभोक्ताले प्रतिकिलो सात रुपैयाँ छुट पाउनेछन् । त्यस्तै, जिउँदो खसीबोका तथा च्यांग्रा र दुग्ध विकास संस्थानको घ्यूमा प्रतिकिलो १० रुपैयाँ छुट पाइने छ । यसपटक चाडपर्वमा १५ सय खसीबोका तथा तीन सय च्यांग्रा काठमाडौं ल्याएर थापाथलीबाट बिक्री गर्ने तयारी छ । 

खसीबोका र च्यांग्रा घटस्थापनाबाट बिक्री शुरु गरेर नवमीसम्म बिक्रीको लागि राखिने छ । सहुलियत पसलका लागि सरकारले ३ करोड बजेट छुट्याएको छ । गत वर्ष भने सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् ३ करोड ३२ लाख २० हजार बजेट छुट्याएको थियो । अहिले गत वर्ष भन्दा ३२ लाख बजेट कम छ । गत वर्ष खसी बोका दुई हजार र च्यांग्रा एक हजार ल्याइएको थियो । गतसाल खसीबोका र च्यांग्रा बिक्री कम भएकाले यसपटक खसीबोका ५ सय र ७ सय च्यांग्रा कम काठमाडौं ल्याउने तयारी छ । 

सुपथ पसल काठमाडौं उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा कम्पनीले बिक्री कक्ष सञ्चालित छन् । अनलाइनमार्फत् अर्डर लिएर उपभोक्ताको घरसम्म नै पुर्‍याइने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । आउँदै गरेको चाडपर्वमा ५० हजार क्वीन्टल खाद्यान्न बिक्री गर्ने तयारी कम्पनीले गरेको छ । सुपथ पसल सञ्चालनका लागि सरकारले तीन करोड बजेट छुट्याएको छ । यस्तै चाडपर्वको समयमा खरिद, बिक्री र उपभोग बढ्ने भएकाले उपभोग्य वस्तुको मूल्य व्यवसायीहरुले आफूखुसी बढाउने हुँदा सरकारले अनुगमन समेत गर्ने जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise