२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

चर्काचर्कीबीच कतारमा मनाइयो संविधान एवम् राष्ट्रिय दिवस

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज ४ गते १७:३१
चर्काचर्कीबीच कतारमा मनाइयो संविधान एवम् राष्ट्रिय दिवस

दोहा, कतार : नेपाली दूतावास कतारले आयोजना गरेको 'नवौं संविधान दिवस एवम् राष्ट्रिय दिवस' कार्यक्रम चर्काचर्कीबीच सम्पन्न भएको छ । दूतावासको सभा हलको बाहिर शुक्रबार बिहान झन्डोत्तोलनपछि सभा हलमा दीप प्रज्वलन गर्दै शुरु गरिएको कार्यक्रममा गैरवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारका अध्यक्ष रमेश भट्टले शुभकामना मन्तव्य राखेकाथिए । त्यसलगत्तै नेपाल व्यवसायी संघ कतारका उपाध्यक्ष नरेन्द्र भाटले शुभकामना मन्तव्य राखे ।

भाट मन्तव्य राखेर पोडियमबाट बिदा भएपछि कार्यक्रम सञ्चालक सन्दीप सापकोटाले नेपाली दूतावास कतारका कार्यवाहक राजदूत कुमार राईलाई शुभकामना मन्तव्य राख्न पोडियममा आमन्त्रण गरे । राई पोडियम नपुग्दै नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष राजेन्द्र देवकोटाले जुरुक्क उठेर कम्तीमा प्रतिनिधि सभामा रहेका राजनितिक दलका भ्रातृ संगठनलाई शुभकामना मन्तव्य राख्न किन दिइएन भनेर प्रश्न गरे । देवकोटासँगै रहेका प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष मोहमद मुक्तदाले समेत समर्थन जनाए । नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहमद अजिज अलि, प्रवास नेपाली सम्पर्क विभाग-कतारका सभापति अब्दुल करीमसहित अन्य भ्रातृ संगठनका प्रतिनिधि तथा प्रमुखले कार्यक्रममा शुभकामना मन्तव्य राख्न पाउनुपर्ने भनि आवाज चर्काए । 

सभापति अलिले विश्वभर रहेका र खाडीका अन्य दूतावासले सबै संघसंगठनलाई समेटेर भव्यरूपमा संविधान दिवस मनाइरहँदा कतारको दूतावासमा सिन्डिकेट किन लगाइएको हो भनेर प्रश्न गरे । कार्यक्रममा यही विषय चर्कँदै गयो । पोडियममा रहेका राईले चर्का चर्की १५ मिनेटसम्म हेरिरहे । उनले प्रधानमन्त्री अमेरिका जाने र प्रोटोकल ड्युटीका कारण एयरपोर्ट जानु परेको हुँदा कार्यक्रम छोट्याइएको बताए, तर उनका कुरा न कसैले सुने न कसैले माने नै । 

देशको आमूल परिवर्तनमा नेपाली राजनितिक दलको प्रमुख भूमिका हुन्छ, एनआरएन र व्यवसायी संघको के भूमिका छ र संविधान दिवसमा स्थान दिइयो र भ्रातृ संगठनलाई बाइपास गरियो भन्दै बहस चर्काचर्कीमै बढी रह्यो । कि शुभकामना मन्तव्य राख्न पाउनुपर्ने नत्र आफूले यो कार्यक्रम नै बहिस्कार गर्ने भन्दै देवकोटा हलबाट बाहिरिन खोजेपछि शुभकामना मन्तव्य राख्न दिनुपर्ने कुरामा हलमा उपस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिले हुटिङ गर्दै ताली बजाएर समर्थन गरे । 

जनसम्पर्कका सभापति अलिले दूतावासका बेतिथिका विरुद्ध बोल्छन् भनेर सिन्डिकेट लगाएको आरोप लगाएपछि नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीले संगठनको नेतृत्व गरेका व्यक्तिहरूले त्यसरी गलत आरोप नलगाउन चेतावनी दिँदै कड्किए । संविधान दिवस मनाउन दूतावासको हलमा जम्मा भएकाहरू एकातिर र दूतावास एकातिरको जस्तै माहोल बन्दै गएपछि प्रथम सचिव सुवेदीले माहोललाई सम्हाल्दै कार्यक्रम तालिका बनाउने क्रममा केही त्रुटि भएको महसुस दूतावास परिवारले गरेको हुँदा उक्त गल्तीका लागि माफी माग्दै सबैलाई शुभकामना मन्तव्य राख्न दिने बताएपछि कार्यक्रम पुन: शुरु भयो ।

त्यसपछि मात्र सौहार्दपूर्ण रूपमा वैचारिक संगठनसहित आदिवासी जनजाति महासंघ, नेपाली महिला समाजसहित केही सामुदायिक संस्थाका प्रमुखले शुभकामना मन्तव्य राखे । नेपाल पत्रकार महासंघ शाखा कतारलाई किन बाइपास गरेको भनि अध्यक्ष दिल श्रेष्ठले प्रश्न गरे । उनले दूतावासले बनाएको सेड्युलमा महासंघलाई सामुदायिक संस्था भन्दा पछाडि राखेर राष्ट्रको चौथो अंगको अपमान गरेको भन्दै भविष्यमा सुधारेर लैजान सुझाव दिए । 

सचिव सुवेदीले माहोललाई चिस्याउँदै, माफी माग्दै, सम्हाल्दै कार्यक्रमलाई सहजीकरण गर्दै गए । कार्यक्रमको अन्तिममा कार्यबहाक राजदूत राईले नेपाली दाजुभाइ दिदीबहिनीलाई राष्ट्रिय दिवस तथा संविधान दिवसको शुभकामना दिएका थिए । उनले नेपालको संविधानमा समानता, स्वतन्त्रता, सम्मान र सबै नेपाली नागरिकको मानव अधिकारसहित विशेष विशेषताहरू रहेको बताएका थिए । सार्वभौम सत्ताको मालिक नेपाली जनता नै हुने कुरा नेपालको संविधानले प्रमाणित गरेको र राष्ट्रिय एकतामा जोड दिएको बताए । मन सफा, शुद्ध र पवित्र भए व्यवहार पनि राम्रो हुने उनको धारणा थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise