२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रेस काउन्सिल नेपालद्वारा निःशुल्क आँखा शिविर, एक सय १७ जनाको आँखा परीक्षण

Nada
२०८१ असोज ४ गते २१:०७
Shares
प्रेस काउन्सिल नेपालद्वारा निःशुल्क आँखा शिविर, एक सय १७ जनाको आँखा परीक्षण

काठमाडौं : प्रेस काउन्सिल नेपालले आफ्नो ५५औं वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा एक सय १७ जनाले आँखा परीक्षण गराएका छन् ।

ncell

तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा प्रेस काउन्सिल नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल पत्रकार महासंघ, सूचना तथा प्रसारण विभागका कर्मचारीलगायत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारको उपस्थित रहको थियो ।

शिविरको उद्घाटन कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार समाजको तेस्रो आँखा भएकाले सोही अनुरूपको भूमिका प्रभावकारी ढंगले निभाउनुपर्ने बताए । 

प्रतिष्ठान र काउन्सिलबीचको सहकार्य र समन्वय आगामी दिनमा अझै प्रगाढ बनाइने उनले स्पष्ट पारे  । दक्षिण एसियामै सो प्रतिष्ठानको नाम उच्च रहेको उनले बताए । उनले भने,‘गाउँ–गाउँसम्म पुगेर प्रतिष्ठानले प्रशंसनीय काम गरिरहेको छ ।’

काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीले प्रतिष्ठानका स्वास्थ्यकर्मी टोलीलाई स्वागत गरेका थिए । 

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम गरिँदै आएको र यसको निरन्तरताका रूपमा आँखा शिविर गरिएको बताए ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले यो शिविरले काउन्सिल र प्रतिष्ठानबीच सम्बन्ध सुमधुर बनाएको बताए । 

प्रतिष्ठानका वरिष्ठ मानव संशाधन व्यवस्थापक मुकेशकुमार सिंहले राज्यको चौथो अंग पत्रकारले मोबाइल र कम्प्युटरमा लामो समय काम गर्नुपर्ने हुँदा आँखामा समस्या आउने जोखिम बढी रहेको बताए ।

सम्बन्धित खबर