२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

ADV
मध्यान्ह
२०८१ असोज ५ गते ०९:२३
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

चितवनः मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी नेपाल)ले नेपालसहित भारत र मालदिभ्सका विज्ञको सहभागितामा सम्मेलन आयोजना गरेको हो । शुक्रबारदेखि शुरु भएको सम्मेलन आज समापन हुँदैछ । सोसाइटीका अध्यक्ष डा शङ्कर लौडारीका अनुसार सम्मेलनमा मुटुरोग विशेषज्ञ, आवासीय चिकित्सकहरु, जनरल फिजिसियनहरु, प्यारामेडिक्स गरी दुई सय जनाभन्दा बढी सहभागी छन् । 

पहिलो दिन दुई जना भारतीय विज्ञसहित १२ जनाले मुटुको भिडियो एक्स–रेसम्बन्धी भएका अत्याधुनिक प्रविधि र विकासक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए । आज दुई जना भारतीय र एक जना मालदिभ्सका विज्ञ चिकित्सकसहित २० जनाले फरक कार्यपत्र प्रस्तुत गर्दै छन् । 

सोसाइटीका अध्यक्ष डा लौडारी, पूर्वअध्यक्ष प्रा डा श्यामराज रेग्मी र प्रा डा मणि गौतमले पहिलो दिन संयुक्त रुपमा सम्मेलनको उद्घाटन गरेका थिए । सोही अवसरमा सोसाइटीले प्रकाशन चौथो जर्नल विमोचन गरिएको थियो । ‘प्रथम इकोकोन नेपाल’ नाम दिइएको सम्मेलन मुटुको भिडियो एक्स–रेलाई नै लक्षित गरेर नेपालमा पहिलो पटक भएको डा लौडारीले बताए । 

सम्मेलनमा मुटुको भिडियो एक्स–रेबाट कस्ता रोग पत्ता लाग्न सक्छन् ? मुटुको उपचारमा भिडियो एक्स–रेको के–कस्तो योगदान हुन्छ ? भन्ने विषयमा केन्द्रित छलफल भइरहेको जनाइएको छ । नेपालको चितवनसहित काठमाडौं, पोखरा, बुटवल, विराटनगर, नेपालगञ्ज, वीरगञ्जबाट र भारतको दिल्ली, चेन्नाइ, मालदिभ्सबाट मुटुरोग विशेषज्ञको सहभागिता रहेको छ । 

सम्मेलनले मुटुरोग उपचारको गुणस्तरमा थप वृद्धि गर्ने उनको भनाइ छ । मुटुको भिडियो एक्स–रेसम्बन्धी विभिन्न देशमा भएका अत्याधुनिक प्रविधि र ज्ञानको आदानप्रदान हुनेछ । मुटुको भिडियो एक्स–रेबाट मुटुमा जन्मजात प्वालहरु, मुटुको खुम्चिनसक्ने क्षमता, मुटुको भल्बसम्बन्धी अवस्था, मुटुमा पानी जम्ने रोग, मुटुबाट निस्किने प्रमुख धमनीसम्बन्धी रोग पहिचान गर्न सहज हुने गर्दछ । विश्वमा मृत्युको पहिलो कारण मुटु तथा मुटुका रक्तनलीसम्बन्धी रोगहरु रहेको डा लौडारीको भनाइ छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise