२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत

Nada
२०८१ असोज ६ गते १०:५०
Shares
ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत

अमेरिका : संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ ।

ncell

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालायमा भएको भेटवार्तामा महासचिव गुटेरसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ग्रिनहाउस ग्यास उत्सर्जनमा भारी कटौती र कमजोरीहरू सम्बोधनसहित नेपालजस्ता पर्वतीय देशहरूको जलवायु वित्त पर्याप्त हुनुपर्नेमा जोड दिएका थिए । गत वर्ष आफ्नो नेपाल भ्रमणका क्रममा नेपाल सरकार र नेपाली जनताले देखाएको सदासयताप्रति आभार व्यक्त गदै महासचिव गुटेरेसले अतिकम विकसित देशलगायत विकासशील देशले कार्बन उत्सर्जन न्यूनीकरण र रोकथाममा ध्यान केन्द्रित गर्न अन्तर्राष्ट्रिय क्षेत्रमा गहन सुधारको आवश्यकतामा जोड दिएका भेटमा सहभागी राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापाले जानकारी दिए ।

विकासशील देशहरूले उन्नत वित्तीय सहायताका लागि वित्तीय संरचना सरलीकृत गर्न राष्ट्रसंघले पहल गर्ने विश्वास दिलाउँदै महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघको शान्ति कार्यमा नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरेकामा कृतज्ञता व्यक्त गदै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गरेका थिए। उनले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न योगदान गरिरहेका नेपाली शान्ति सेनालाई राष्ट्रसंघको उच्चतम पद उपलब्ध गराउन आग्रह गरे।

प्रधानमन्त्री ओलीले नेपालको खुम्बु क्षेत्रमा हालै गएको हिम पहिरोप्रति राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको चासोका लागि पनि धन्यवाद दिँदै नेपालले चाँडै ‘हिमालय इकोसिस्टम’को एजेण्डासहित सगरमाथा संवादको आयोजना गर्ने जानकारी गराए। उनले उक्त संवादमा सहभागी हुन महासचिव गुटेरेसलाई निमन्त्रणासमेत दिए। ‘समृद्ध, नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षासहित मुलुकको आर्थिक रूपान्तरण गरी अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा नेपाल रहेको स्पष्ट गदै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरू हासिलका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपेक्षासमेत गरे।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका प्रतिनिधि (राजदूत) थापा र परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई सहभागी छन्। त्यस अघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना आइल्याण्ड भएका मुलुकका लागि प्रतिनिधिसमेत रहेका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गरेका थिए । गए राति नै प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले रात्रिभोज आयोजना गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर