२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

अपांगता भएकाहरूलाई घरमै नागरिकता

Nada
२०८१ असोज ६ गते ११:०७
Shares
अपांगता भएकाहरूलाई घरमै नागरिकता

तेह्रथुम : जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपांगता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपांगता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिए। 

ncell

उनले वैशाखयता मात्र जिल्लाका १४ जना अपांगता भएका व्यक्तिहरूलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरिसकेको बताए। “नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा व्यक्ति स्वयं उपस्थित हुनुपर्छ तर कार्यालयसम्म आउन नसक्ने अपांगता भएकाहरूलाई भने जनप्रतिनिधिमार्फत अपांगता पहिचान गरी वडाले नै सबै कागजात बनाइसकेपछि घरमै नागरिकता प्रदान गर्ने गरिएको छ”, प्रमुख जिल्ला अधिकारी अर्यालले भने।  

अपांगता भएको छोरालाई नागरिकता बनाउन सदरमुकाम लिन नसक्दा उमेर पुगेको आठ वर्षपछि टोलीले घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको मेन्छ्यायेम-४ का भवानीप्रसाद लिम्बूले बताए “बोल्न, सुन्न र हिँड्न नसक्ने २४ वर्षीय छोरालाई बोकेर जिल्ला सदरमुकाम जान सकेका थिएनौँ । हालै प्रमुख जिल्ला अधिकारीसहितको टोली घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको छ”, उनले भने।

स्थानीय मन्दिरा खतिवडाले पनि मेरुदण्डमा समस्या भएकी छोरीलाई छोरीलाई घरमै आएर नागरिकता प्रदान गर्दा सहज भएको बताए ।“ बोल्न, सुन्न, हिँडडुल गर्न नसक्ने छोरीलाई बोकेर सदरमुकाम पुर्‍याउन निकै गाह्रो थियो । लामो कच्ची बाटोमा गाडीमा लिन पनि समस्या छ । पहिला अपांगताको कार्ड बनाउन जाँदा मुस्किलले बोकेर लगिएको थियो, अहिले नागरिकता भने घरमै पाइयो”, उनले खुसी व्यक्त गरे।  

यहाँ शुक्रबार पनि मेन्छ्यायेम गाउँपालिकाका बौद्धिक अपांगता भएकी वडा नं ६ की बालकुमारी थापा र वर्षा नेपाली, शारीरिक अपांगता भएकी वडा नं ५ की प्रमिला खतिवडा, वडा नं ४ का विमल लिम्बू र सञ्सिता लिम्बूलाई घरमै गएर जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको थियो । यस्तै पालिकामा शनिबार पनि पाँच जना अपांगता भएकाहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।

ताजा खबर

सम्बन्धित खबर