२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

भरतपुरको मुख्यबजार क्षेत्रको छ लेन सडक निर्माण अन्तिम चरणमा

Nada
२०८१ असोज ६ गते १३:५४
Shares
भरतपुरको मुख्यबजार क्षेत्रको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवनः भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

ncell

महानगरको बजारी क्षेत्रको सौन्दर्यसँग जोडिएको यो सडकको निर्माणको काम  ९१ प्रतिशत सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका इ सागर कार्कीका अनुसार चौबिसकोठीदेखि पुलचोकसम्म कालोपत्रको माथिल्लो भागको काम भइरहेको छ । सडक सुरक्षाको काम बाँकी रहेको छ । उनका अनुसार गोन्द्राङबाट चौबिसकोठीसम्म कालोपत्र गर्ने काम सकिएको छ । पूरै सडकमा रङरोगन र सडक बत्तीको काम बाँकी रहेको कार्कीले जानकारी दिए । वर्षात्का कारण रङरोगनको काम रोकिएको हो ।

विसं २०७७ असोज २६ गते इन्डो सगुन जेभीले विसं २०७९ माघ २५ गतेभित्र विस्तार सक्नेगरी कामको जिम्मा लिएको थियो । सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको छ । दुई पटक समय थप गर्दा पनि सडक निर्माणको काम नसकिएपछि पुनःसमय थप गर्न लागिएको कार्कीले बताए । पुस मसान्तसम्मको समय थप गर्न लागिएको उनले जानकारी दिए ।

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यकरणलाई समेत ख्यालगरी छ दशमलव शून्य आठ किलोमिटर लामो सडक विस्तारको काम थालिएको हो । सडकको लागत रु एक अर्ब २३ करोड ५० लाख रहेको छ । पचास मिटर चौडाइ रहनेछ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउण्डको योजनासहित सडक निर्माण शुरु गरिएको हो । 

सडकको दायाँबायाँ ११ दशमलव पाँच मिटरका दरले कालोपत्र गरिएको छ ।  त्यसकाबीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर पाँच दशमलव पाँच मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीनदेखि चार मिटरको फुटपाथ बनेको छ ।
 
महानगरपालिका प्रमुख रेनु दाहालले स्मार्टलाइट र वृक्षरोपणको काम भइरहेको बताइन् । सडकमा वृक्षरोपणका लागि महानगरपालिकाले रु ९५ लाखको ठेक्का गरिसकेको छ । प्रमुख दाहालले भनिन्, ‘महानगरपालिकाको सभाकक्षमा छलफल गरेर बनेको आयोजना भएकाले यो आयोजना शुरुवातदेखि अहिलेसम्म हामीले उच्च प्राथमिकतामा राखेर सहयोग पुर्‍याइरहेका छौँ ।’ 

गत वर्ष बजेट निकासा नहुँदा महानगरपालिकाले संस्थागत रुपमा पहल गरेर बजेट निकासामा सहयोग गरेको थियो । दाहालले भनिन्, ‘महानगरको सौन्दर्यसँग जोडिएकाले यो सडकलाई सुन्दर र हरियाली बनाउने काम महानगरले पनि गरिरहेको छ ।’

ताजा खबर

सम्बन्धित खबर