२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

आफूखुसी र आफन्तवादका कारण सिमकोटमा विकास हुन नसकेको गुनासो

Nada
ओबराज शाही
२०८१ असोज ७ गते २०:३४
Shares
आफूखुसी र आफन्तवादका कारण सिमकोटमा विकास हुन नसकेको गुनासो

हुम्ला : स्थानीयस्तरमा विकास निर्माणका लागि उपभोक्ता समितिको ठूलो हात हुने गर्दछ ।  तर आफूखुसी र आफन्तवादका कारण सिमकोट गाउँपालिकाभित्र विकास हुन नसकेको गुनासाहरु आउने गरेका छन् । 

ncell

जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले सिमकोट गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सिमकोट गाउँपालिकाले विकास निर्माणमा फड्को मार्न नसकेको बताए । त्यस्तै गाउँघरमा योजना ल्याउँदा किनेर ल्याउने भन्ने कुरा व्यापकरुपमा आएको हुँदा यसरी किनेर योजना ल्याउँदा विकास कुनै हालतमा नहुने उनले बताए । 

योजना गाउँघरमा लिँदा उपभोक्ता समिति बन्न पार्टी नै परिवर्तन हुने पाटो पनि निकै ठूलो संख्या देखिएकाले वडादेखि स्थानीय तहका योजना त्यस्ता व्यक्तिलाई नदिन पनि उनले आग्रह गरे । 

गाउँघरमा प्रत्येक योजना एकै व्यक्तिले सञ्चालन गरेको हुँदा आगामी दिनमा यसलाई परिवर्तन गर्नुपर्ने देखिएको उनले बताए । यस्तै योजनाको जिम्मा लिएका व्यक्तिको खातामा पैसा भुक्तानी हुने हुदाँ अब कामदारको खातामा पैसा दिन गाउँपालिकालाइ सुझाव दिए । 

गाउँपालिकाले एक वर्षसम्म आफ्नो माताहतमा रहेका ८ वटै वडामा भए÷गरेको योजनाबाट वित्तीय प्रगति ८६ प्रतिशत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । 

त्यस्तै गाउँपालिकाले भौतिक प्रगती ९५ प्रतिशत रहेको देखिन्छ । 

गाउँपालिकाले ८ वटै वडालाई योजना निर्माण र गाउँमा भएका अतिआवश्यक योजना  पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए ।  

कार्यक्रममा सहभागी भएका केही नागरिकले विकासको नाममा आफन्त पाल्न र घर चलाउने मात्र भएको बताएका थिए । त्यस्तै योजना लिँदा उपभोक्ता समिति राख्दा आफन्तवाद भएको सहभागीको भनाइ थियो ।  

गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइमा सहभागीले गरेका प्रश्नको जवाफ  अध्यक्ष,उपाध्यक्ष र शाखा प्रमुखहरुले दिएका थिए । वार्षिक सुनुवाइ कार्यक्रममा विकासतर्फ लाग्नुपर्ने र किनेर ल्याएको योजना भनेर नागरिकलाई दुःख नदिन जिल्ला समन्वय प्रमुख शिवराज शर्माले बताए । अबको दिनमा योजना मात्र नभएर विकासतर्फ लाग्ने, वडा सरकारले पनि उपभोक्ता समिति बनाउँदा विकास गर्ने व्यक्तिलाई बनाउने, त्यस्तै अबको दिनमा जुन व्यक्तिले काम गरेको छ, त्यही व्यक्तिको खातामा पैसा दिने निर्णय गर्ने गाउँपालिका अध्यक्ष बिजय भण्डारीले बताए ।  

ताजा खबर

सम्बन्धित खबर