काठमाडौं : चाडवाडको समय बढ्दै जाँदा वैदेशिक रोजगारीबाट घर फर्किने कामदारलाई प्रयोग गरी सुन तस्करी बढेको छ । चाडवाडको समय नजीकिदै गर्दा घर फर्किने कामदारको संख्या पनि दैनिक रुपमा बढेको छ । कामदारलाई प्रयोग गरेर सानो परीमाणको सुन तस्करी भइरहेको थियो । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो चार सय ग्राम अवैध सुनसहित कतारमा वैदेशिक रोजगारी गरेर घर फर्किएका होम बहादुर गुरुड पक्राउ परेपछि सुन तस्करीको यो रहस्य खुलेको हो ।
होम बहादुरसँगै अन्य दुईजना पनि पक्राउ परेका छन् । गुरुङ हिमालयन एयरलाईन्सको विमानमा कतारबाट काठमाडौं आउने क्रममा पक्राउ परेका हुन् । विमानस्थलमा कार्यरत प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार गुरुङले बोकेर ल्याएको सुन लिन विमानस्थल पुगेका अन्य दुईजना पनि पक्राउ परेका हुन् । उनीहरुलाई भन्सार विभागको जिम्मा लगाइएको छ ।
सुन तस्करहरुले शिक्षा, चेतना र आर्थिक दृष्टिले कमजोर अवस्थामा रहेका कामदारहरुलाई यसअघि पनि सानो–सानो परीमाणमा सुन बोकाएर भरिया बनाई नेपाल पठाई तस्करी गराउने गर्दै आएका थिए । तर वैदेशिक रोजगारीमा गएका कामदारलाई भरिया बनाई ठूलो परीमाणमा सुन बरामद भएको पहिलो पटक भएको बताइएको छ ।
भन्सार छलेर कारोवार गर्नेलाई भन्सार ऐनमा कडा कारबाहीको प्रावधान रहेको छ । तोकिएको बाटो बाहेक अन्यत्रबाट माल बस्तु निकासी वा पैठारी गरेमा वा गर्ने प्रयत्न गरेमा भन्सार अधिकृतले त्यस्तो मालवस्तु जफत गरी जिल्ला अदालतबाट दुई लाख रुपैयाँभन्दा बढी दश लाख रुपैयाँसम्मको बिगोमा एक महिनासम्म कैद, दश लाख रुपैयाँदेखि बढी पच्चीस लाख रुपैयाँसम्मको बिगोमा एक महिनादेखि तीन महिनासम्म कैद, पच्चीस लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्मको बिगोमा तीन महिनादेखि छ महिनासम्म कैद हुने व्यवस्था छ ।
त्यस्तै पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्मको बिगोमा छ महिनादेखि एक वर्षसम्म कैद, एक करोड रुपैयाँभन्दा बढी पाँच करोड रुपैयाँसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच करोड रुपैयाँभन्दा बढी बिगोमा तीन वर्षदेखि पाँच वर्षसम्म कैदको व्यवस्था रहेको छ । सामान पनि जफत हुने र अनाहकमा कैद बस्नु पर्दा धेरै कामदार समस्यामा पर्ने गरेका छन् ।
वैदेशिक रोजगारीमा रहेका कामदारलाई भरिया बनाएर तस्कर समुहले आफ्नो स्वार्थ पुरा गरेको विषय नेपालमा मात्र सिमित रहेको छैन । कतारको हमाद विभानस्थलले समेत कामदार लगायत यात्रुहरुलाई विना जानकारी अरुको समान नबोक्न आग्रह गरेको छ ।
अरुको सामान बोकेर आवागमन गर्ने यात्रुहरु अनाहकमा फस्ने क्रम बढेपछि कतारको आन्तरिक मामिला मन्त्रालयले विना जानकारी अरुको समान नबोक्न आग्रह गरेको हो । खासगरी तस्करहरुले विभिन्न वहाना बनाएर रोजगारीबाट फर्केका कामदारलाई भरिया बनाउने गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies