२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

बाँकेमा साताव्यापी विविध कार्यक्रमका साथ संविधान तथा राष्ट्रिय दिवस मनाइयो

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १२:१२
बाँकेमा साताव्यापी विविध कार्यक्रमका साथ संविधान तथा राष्ट्रिय दिवस मनाइयो

नेपालगञ्ज : बाँकेमा साताव्यापी विविध कार्यक्रमका साथ संविधान तथा राष्ट्रिय दिवस मनाइएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सरकारी स्तरबाट बाँके जिल्लामा प्रभातफेरी, प्रवचन, समाजसेवीहरुलाई सम्मान, भलिबल प्रतियोगिता, वक्तृत्व कला प्रतियोगिता तथा रक्तदानसहित विविध कार्यक्रमको आयोजना गरिएको थियो भने नागरिक तहबाट पनि विभिन्न कार्यक्रम गरिएको थियो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष गोविन्द प्रसाद पाण्डेका अनुसार असोज ३ गते बिहान जिल्ला प्रशासन कार्यालय बाँकेबाट शुरु भएको पञ्चेबाजासहितको प्रभातफेरी त्रिभुवनचोक, वीपीचोक हुँदै भेरी प्राविधिक शिक्षालयमा पुगेर सभामा परिणत भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको मूल समारोहमा बाँकेको साहित्य तथा समाज सेवामा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न क्षेत्रका ७ जनालाई दोसल्ला, माला र सम्मानपत्रबाट सम्मान गरिएको थियो । 

सम्मानित हुनेमा बाँकेबाट नेपाली साहित्यमा उल्लेखनीय योगदान गर्दै करिब दुई दर्जन कृति रचना तथा प्रकाशन गरेका नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मी, उर्दु साहित्यमा उल्लेखनीय योगदान गर्दै करिब एक दर्जन कृति रचना तथा प्रकाशन गरेका अब्दुल लतिफ शौक, डुडुवा गाउँपालिकामा निर्मित बाल सुधार गृहलाई ८२ कठ्ठा र मानव सेवा आश्रमलाई १० कट्ठा गरी जम्मा ९२ कट्ठा जग्गा दान गर्ने दानवीर, समाजसेवी तथा शिक्षाप्रेमी जयकेश सिंह, योगमार्फत बाँके जिल्लावासीको मानव स्वास्थ्यमा उल्लेखनीय योगदान पुर्‍याउने योगगुरु आयुर्वेदाचार्य गिरीराज भट्टराई, १५६ पटक रक्तदान गर्ने बाँकेका उत्कृष्ट रक्तदाता गोपीलाल वैश्य, ७६ पटक रक्तदान गर्ने बाँकेकी महिला रक्तदाता समाजसेवी सरिता ज्ञवाली तथा अन्जली माता रसोईमार्फत भेरी अस्पताल हाताभित्र कोरोना महामारीकालदेखि अस्पतालका बिरामी तथा कुरुवाका लागि ४० रुपैयाँमा सर्वसुलभ भोजनको निरन्तर व्यवस्थापन गर्ने समाजसेवी जितेन्द्र कुमार सिंह रहेका छन् ।

सम्मान कार्यक्रमको व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँके तथा कर्मचारी मिलन केन्द्र बाँकेले गरेका थिए भने संयोजन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ तथा कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष गोविन्द प्रसाद पाण्डेले गरेका थिए । कर्मचारी मिलन केन्द्रका अध्यक्ष पाण्डेले सहजीकरण गरेको सो कार्यक्रममा वक्ताहरुले संविधानले कानूनको शासन र लोकतन्त्रको रक्षा गर्ने बताउँदै यसको पालना सबैले गर्नुपर्ने बताए । संविधानलाई समयसापेक्ष बनाउन संशोधन गर्न सकिने बताउँदै उनीहरुले संविधानले समावेशी व्यवस्था अंगिकार गरेकाले राज्यका सबै तह र तप्कामा सबै लिङ्ग, वर्ण, क्षेत्र र समुदायको सहभागिता सम्भव भएको बताए ।

सो कार्यक्रमका विशेष अतिथिमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जका न्यायाधीश चन्द्र बहादुर सारु रहेका थिए भने जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदी, बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईं, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाही, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अशोक रेग्मी, नेपाली कांग्रेसका उपसभापति गोपाल प्रसाद अधिकारी, एमालेका प्रतिनिधि मिनबहादुर मल्ल, नेकपा माओवादी केन्द्रका अध्यक्ष नरेन्द्र पाण्डे (जेम्स), जसपाका प्रतिनिधि बसन्त कनौजिया, नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अन्तर पार्टी महिला संजाल बाँकेका अध्यक्ष ऋचा द्विवेदी, नागरिक समाज बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग व्यापार संघका अध्यक्ष टंक धामी, उच्च बारका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला बारका अध्यक्ष मेयरसिंह खत्री, राजनैतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाज, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । 

दिवसकै अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको समन्वय तथा कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा असोज २ गते कर्मचारी मिलन केन्द्र बाँंकेको सभा कक्षमा संविधानको आवश्यकता र महत्व शीर्षकमा बाँकेका माध्यमिक विद्यालयस्तरीय छात्र र छात्राहरुबीच अलग–अलग वक्तृव्य कला प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा विजयी छात्र छात्राहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । छात्रा समूहमा प्रथम स्थान हासिल गर्ने कोशिका खड्का जनता मा.वि. सन्तकुटी खजुरा, द्वितीय स्थान हाँसिल गर्ने नविता विष्ट ने.रा. मा.वि. मनकामनापुर खजुरा तथा तृतीय स्थान हासिल गर्ने निशा गुप्ता महेन्द्र मा.वि. मटेहिया नरैनापुर रहेका थिए ।

छात्र समूहमा प्रथम स्थान हाँसिल गर्ने नवराज पुन लक्ष्मी मा.वि. मुदुई राप्तीसोनारी, द्वितीय स्थान हाँसिल गर्ने बसन्त बुढा दिपज्योति विद्या निकेतन वैजनाथ तथा तृतीय स्थान हासिल गर्ने ऋषिराम तिवारी, महेन्द्र मा.वि.मटेहिया नरैनापुर रहेका थिए दुबै समूहमा प्रथम पुरस्कार पाँच हजार, दोस्रो पुरस्कार तीन हजार तथा तेस्रो पुरस्कार दुई हजार रहेको थियो । वक्तृत्व कला प्रतियोगिताको पुरस्कारमा बीस हजार तथा अन्य सबै आर्थिक व्यवस्थापन कर्मचारी मिलन केन्द्र बाँंकेले गरेको थियो ।

सोही अवसरमा नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजना तथा खेदकुद विकास समिति बाँकेको प्राविधिक सहयोगमा नेपालगञ्ज रंगशालामा असोज १ र २ गते भलीवल प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा विजयी भलिबल टिमका टिम लिडर संगठनका प्रमुख तथा खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि तथा अध्यक्षले प्रदान गरेका थिए । भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने भलिबल संघ बाँके टिमलाई नगद १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाण पत्र प्रदन गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा भलिबल संघ बाँकेका अध्यक्ष मनीराम बटला तथा टिम क्याप्टेन र सबै खेलाडीको सहभागिता रहेको थियो । नेपाली सेना बाँके टिमले द्वितीय स्थान हासिल गरेर नगद ७ हजार ५ सय रुपैयाँ पुरस्कारसहित प्रमाण पत्र प्राप्त गरेको थियो ।

सो कार्यक्रममा नेपाली सेना बज्रदल गण राँझाका गणपती रविन श्रेष्ठ, टिम क्याप्टेन तथा नेपाली सेनाका सबै खेलाडीहरु, बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्की, टिम क्याप्टेन तथा नेपाल प्रहरीका सबै खेलाडीहरु सहभागिता रहेको थियो । प्रतियोगितामा तृतीय स्थान नेपाल प्रहरी बाँके टिमले प्राप्त गरी नगद ५ हजार रुपैयाँ पुरस्कारसहित प्रमाण पत्र प्राप्त गरेको थियो । प्रतियोगिताको पुरस्कार रकम तथा अन्य सबै अर्थिक व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गरेको थियो ।

भलिबल प्रतियोगिताको संयोजन बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले गरेका थिए । मूल समारोहको व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गरेको थियो भने पञ्चेबाजाको व्यवस्थापन कोहलपुर नगरपालिकाले गरेको थियो ।

यसैगरी नागरिक स्तरबाट पनि यहाँ विभिन्न संघ संस्थाहरु तथा गाउँपालिकाले पनि बेग्लाबेग्लै कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाएका थिए । बास नेपालले गणेशमान चोकमा नागरिक संवाद काार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा बास नेपालका सल्लाहकारहरु किरण आचार्य, पूर्णलाल चुके, रुद्र तिमिल्सेना, हरित अभियन्ता हेमन्त काफ्ले, बासका कार्यकारी निर्देशक नमस्कार शाह, रविन्द्र बोहरा लगायतले संविधानको बारेमा बोलेका थिए ।

त्यस्तै सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगञ्जको संयुक्त आयोजनामा संविधान वाचन कार्यक्रम गरिएको थियो । संविधानका बारेमा सेचतना अभिवृद्धिका लागि संविधान वाचन गरिएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले संविधान वाचन गरेका थिए । नेपालको संविधान २०७२ मा कुल धारा ३०८, भाग ३५, र अनुसूचि ९ सबै वाचन गरिएको संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताए । उनका अनुसार नेपालको सविधान तथा कानून पढ्ने बानी बसाल्न र सबैले संविधानको हरेक धारा तथा दफामा भएको व्यवस्था बारे आम नागरिकलाई सचेतना अभिवृद्धिका लागि संविधान वाचन गरिएको हो । 

सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की, उच्च अदालत बारका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला बारका अध्यक्ष मेहर सिंह, वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, अधिवक्ताहरु लोकबहादुर शाह, बसन्त गौतम, बलबहादुर चन्द, मीरा ददेल, भानुभक्त रिजाल, कृषि ज्ञान केन्द्र नेपालगञ्जका सूचना अधिकारी राम प्रकाश यादव, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका लेखा अधिकृत दिनेश सिंहले संविधान वाचन गरेका थिए ।

यसैगरी सामाजिक अभियन्ता कृष्णप्रसाद श्रेष्ठ, शैलेन्द्र वैश्य, हेमन्त काफ्ले, रविन्द्र ज्ञवाली, योग गुरु गिरीराज शर्मा भट्टराई, जानकी गाउँपालिका वडा नं. २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, विद्यार्थीहरु जिज्ञासा तिवारी, कृष्ण बढही, अस्मिता खनाल, लक्ष्मी सार्की, घनश्याम शाही, शेरबहादुर चलाउने, झक्क भण्डारी लगायतले संविधानका विभिन्न धाराहरु वाचन गरेका थिए ।

त्यस अवसरमा स्टेसनरी व्यवसायी संघ बाँकेका अध्यक्ष सागर ज्ञवालीले ५० थान नेपालको संविधान पुस्तक उपलब्ध गराएका थिए । कार्यक्रममा नेपाली र अवधी भाषामा संविधान वाचन गरिएको कार्यक्रम संयोजक जिज्ञासा तिवारीले बताइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise