२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

राष्ट्रपति पौडेलद्वारा उत्कृष्ट १० कवि पुरस्कृत

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १२:३१
राष्ट्रपति पौडेलद्वारा उत्कृष्ट १० कवि पुरस्कृत

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गरिएको छ । प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवास महाराजगञ्जमा आयोजित एक समारोहबीच १० जना कविलाई पुरस्कृत गरेका हुन् ।

बर्दियाका कवि अग्र आवाजको कविता 'माटोको उडान', मकवानपुरका कवि अनिता न्यौपानेको कविता 'अचेल कहाँ हराइरहेका छन्- बच्चाहरू ?', नवलपरासीका कवि अन्जान प्रदीपको कविता 'फूलको पोस्टमार्टम', दाङका कवि छविलाल कोपिलाको थारुभाषाको कविता 'पस्नक बास', रोल्पाका कवि दिलिप बुढामगरको मगरभाषाको कविता 'मासन्सिउ छकाल्य', मोरङका कवि रुमानी कुलुङको कविता 'आमाको अनुहार', सिन्धुलीका कवि रूपक जमरा घलानको तामाङ भाषाको कविता बगरला दुङाल, सोलुखुम्बुका कवि रेजिना खालिङको खालिङ भाषाको कविता 'अर्दु युम प्योक',ललितपुरका कवि शर्मिला दुलालको कविता 'बग्नु एक नियति' र पाँचथरका कवि सुमन सहयात्री योङहाङको 'कविता बिर्सिजानेहरू' शीर्षकका उत्कृष्ट घोषित १० जना कविहरूलाई राष्ट्रपति पौडेलले जनही ३० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा प्रमुख अतिथि राष्ट्रपति पौडेलले कविता ज्ञान, अनुभव र अनुभूतिको भण्डारण भएकाले विचार निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए ।

राष्ट्रपति पौडेलले २०२२ सालबाट शुरु भएको राष्ट्रिय कविता महोत्सवमा प्रत्येक वर्ष प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गर्ने प्रतियोगितात्मक स्वरूपलाई परिवर्तन गरेर समावेशी र सहभागितामूलक बनाउँदै विभिन्न मातृभाषाका कवितालाई समेटेर १० कविका उत्कृष्ट १० कवितालाई समान ढंगले पुरस्कृत गर्नु भनेको सबै भाषाभाषीको आत्मसम्मानमा बढावा पुगेको धारणा राखे । समारोहमा राष्ट्रपति पौडेललाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक उपहार प्रदान गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय कविता महोत्सवको परम्परालाई बदलेर समावेशी ढंगले राष्ट्रिय कविता महोत्सव आयोजना गरेकाले पनि सबै भाषाभाषीका कविहरूको आत्मसम्मान बढेको र ऊर्जा थपिएको बताए । उनले कविता साहित्यको विशाल अग्रभागमा रहेको अन्तरआत्माको गुञ्जन भएकाले थप सिर्जनशील हुनुपर्नेमा जोड दिए ।

No description available.

सभाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईले २०२२ सालदेखि एकल भाषाका रूपमा शुरु भएको राष्ट्रिय कविता महोत्सवको ढाँचालाई केही परिवर्तन गरेर नयाँ चिराबाट 'बहुभाषिक राष्ट्रिय कविता महोत्सव'को आयोजना गर्न थालिएको बताए । सोही लक्ष्य प्राप्तिका दिशामा अगाडि बढ्दै राष्ट्रिय कविता महोत्सवलाई सबैको साझा तथा समावेशी एवम् सहभागितामूलक बनाउने हेतुले परम्परागत प्रतियोगितात्मक ढाँचालाई परिवर्तन गर्ने निर्णय गरिएको उनले बताए । कुलपति राईले प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगितात्मक स्वरूपलाई बदलेर थप सहभागितामूलक बनाउनका लागि उत्कृष्ट दशलाई पुरस्कृत गर्ने कार्यको थालनी गरिएको बताए ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ 'विमल निभा'ले स्वागत मनतव्यका क्रममा राष्ट्रिय कविता महोत्सवलाई समावेशी स्वरूप प्रदान गरेपछि झन् सबै मातृभाषाका कविमा काव्यमय वातावरण बनेको बताए । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रम सञ्चालन गर्दै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र र दर्शन शास्त्रका क्षेत्रमा प्रज्ञा प्रतिष्ठानले महत्वपूर्ण कार्य गरिरहेको उल्लेख गरे । उनले राष्ट्रिय कविता महोत्सवको परम्परागत शैलीलाई फेरबदल गरेर विभिन्न मातृभाषामा रचिएका कविका कवितालाई समेटेर समावेशीमूलक बनाउनुको महत्वबारे चर्चा गरे ।

महोत्सवका कार्यक्रम संयोजक, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, साहित्य (पद्य/काव्य) विभाग प्रमुख बाबा बस्नेतले राष्ट्रिय कविता महोत्सव-२०८१ सम्बन्धी संक्षिप्त प्रतिवेदन उक्त पुरस्कार समर्पण समारोहमा प्रस्तुत गरेका थिए । प्रतिवेदनका अनुसार नेपालमा अस्तित्वमा रहेका १२४ भन्दा बढी मातृभाषा मध्येबाट प्राप्त भएका करिब चार दर्जन जति मातृभाषाका कविताहरू यस पटकको राष्ट्रिय कविता महोत्सवमा समावेश गरिएको थियो । यसरी राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक या समावेशी बनाइएको थियो ।

राष्ट्रिय कविता महोत्सव २०८१ मा इमेल र प्रत्यक्ष गरी प्राप्त भएका ८ सय कवितामध्ये एक जनाको एक कविता मात्र स्वीकार गर्ने नियमअनुसार ६ सय ७ वटा कविता दर्ता गरिएको थियो । जसमा ४४ वटा भाषाभाषीका कविता र २१ वटा छन्दकविता समावेश गरिएको थियो ।उक्त कवितालाई कोडिङ गरी मूल्यांकन समितिलाई उपलब्ध गराइएकोमा समितिले विभिन्न चरणको मूल्यांकन प्रक्रिया पूरा गरी उच्चा‌ङ्कित २५ वटा कविता वाचनका लागि छनोट गरेक‍ो थियो । साेही वाचित कविताहरुमध्येबाट दश जना कविका दश वटा कवितालाई उत्कृष्ट घोषित गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise