दोस्रो जनआन्दोलन २०६२-०६३ पछि नेपालमा बढी सम्वाद भएको विषय मध्ये एक हो, नागरिकता । नागरिकताको विषयमा दलहरु कहिले पनि एक ठाउँ उभिन सकेनन् । दलीय विभाजनजस्तै नागरिकताको विषय पनि विभाजित हुँदै आयो । कहिले नेपाली कांग्रेस एक्लिए, केहिले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एक्लिए भने कहिले मधेश केन्द्रीत दल एक्लिए । दलहरु एक्लिनु मात्रै नभएर गठबन्धन र सामुहिक धारणा पनि बन्ने क्रम रह्यो ।
१७ कात्तिक २०७१ मा नेपाली कांग्रेस र तत्कालीन एमालेबीच नागरिकतासहित राज्यको शासकीय पुनर्संरचनाबारे साझा धारणा तय भयो । यसैले नेपालको राजनीतिमा माइलस्टोनको काम गरेको थियो । यो साझा धारणाको दायरालाई २०७२ वैशाखको महाभूकम्पले अझ फराकिलो बनाइदियो । देशमा संविधान जारी भयो । तर, नागरिकता विषय पनि एकहदसम्म टुंगो लाग्यो । तर, मधेश केन्द्रीत दलहरु यो विषयसँग सहमत हुन सकेन । विशेषगरी अहिलेको राष्ट्रिय जनता पार्टी (राजपा)को असहमतिपछि नयाँ संविधानका थुप्रै प्रावधानसहित नागरिकताको विवाद पनि जिवित रह्यो ।
अहिले फेरि तिनै विषय राष्ट्रिय राजनीतिको तातो बहस बन्न पुगेको छ । जन्मसिद्ध नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिता नपाएको विषय मधेश आन्दोलनका केही वर्ष यताबाटै चल्दै आएको थियो । यो विषयमा सर्वोच्चकै आदेश समेत एकापसमा बाझिने हुँदै आएको छ । गृह मन्त्रालयले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनू भन्ने परिपत्र सर्वोच्चले नरोक्न त कहिले रोक्न आदेश दिदै आएको छ । अहिलेको विषय भने विदेशी बुहारी र ज्वाइँलाई नागरिकता दिने प्रावधानबारे बहस हुँदै आएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले तयार पारेको प्रतिवेदनले बिदेशी बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने र त्यस अगाडि धार्मिक, सामाजिक र आर्थिक अधिकार पाउनेगरी कुनै परिचयपत्र खुल्ने पत्र दिने प्रस्ताव गरिएको छ । विदेशी ज्वाइँलाई भने नेपालमा बसेको १५ वर्ष पूरा भएको र नेपालमा बोलिने मध्ये कुनै एक भाषा बोल्न जान्ने हुनुपर्ने व्यवस्था गर्न प्रतिवेदन तयार पारिएको छ । यो विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नै सहमत नभएपछि राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरु भन्दा बाहिर निस्किएको छ, नागरिकताको विषय । हुनत, नेपालमा नागरिकता विषय निकै पुरानो हो । जुन अहिलेसम्म सुल्झिन सकेको छैन । त्यसैले यस्तो गम्भीर विषयमा आफ्नो राजनीतिक पोजिसन राखेर बोल्ने भन्दा पनि यस्ता साझा विषयमा दलहरुले साझा धारणाका लागि गहन छलफल गर्न उचित हुन्छ । तपशीलका विषयमा अल्झिनु उपयुक्त हुन्न ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies