२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

संघीय बजेट, भुरा योजना

ADV
मुकुन्द लामिछाने
२०८१ जेठ ३२ गते ०६:५०
संघीय बजेट, भुरा योजना

काठमाडौं : प्रतिनिधि सभामा सांसदहरुले आगामी आर्थिक बर्षको बजेटको समीक्षा गरिरहेका छन् । बजेटमाथिको सामान्य छलफल सकाएर संसदमा मन्त्रालयगत छलफर जारी छ ।  सांसदहरु जब मन्त्रालयगत बजेटमाथिको समीक्षामा पुगे तब उनीहरुले एक लाख रकम परेका आयोजना एक भन्दा धेरै देखे । 

तीन करोड, पाँच करोड भन्दा कमको योजना संघीय बजेटमा नल्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री बर्षमान पुनको सार्वजनिक प्रतिवद्धता थियो । तर, त्यस्तो प्रतिवद्धता अनुसार पत्याउनै नसकिने गरी एक/एक लाखका योजना परेपछि सांसदहरु सरकारको आलोचनामा उत्रिएका छन् । सत्तारुढ दलकै सांसदहरुले खुलेर मन्त्रालयगत बजेटको समर्थन गर्न सकिरहेका छैनन् । 

बिहीबार प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमाथिको छलफल थियो ।

छलफलमा भाग लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोसन कार्कीले आगामी आर्थिक बर्षको बजेटमा अधिकांश मन्त्रालयका कुनै न कुनै आयोजनाका लागि एक/एक लाख रकम विनियोजन भएको स्मरण गरिन् ।

‘कति धेरै योजनामा एक लाख रुपैयाँ आएको छ’ यसप्रति ब्यङ्ग्य गर्दै उनले भनिन्, ‘बजारमा एउटा पसल पाइन्छ, हरेक सामानको मूल्य ९९ रुपैयाँ । त्यस्तै संघीय सरकारको बजेटमा पनि कैयन योजनालाई एक/एक लाख बाडिँएको छ । प्लिज– हरेक माल ९९ वाला विधि नपनाइदिनुहोस् न ।’ 

सांसद कार्कीले भने जस्तै कैयन मन्त्रालयका कैयन योजनामा एक/एक लाख रकम विनियोजन भएको छ । शहरी विकास मन्त्रालयका ९१ वटा योजनामा एक/एक लाख परेको छ । यो मन्त्रालयको बजेटमा ५ लाखका १ सय ७७ वटा छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मदन भण्डारी विश्वविद्यालय, योगमाया आयुर्वेद विश्वविद्यालय चलाउन एक/एक लाख छुट्याइएको छ । स्मार्ट सिटी बनाउने योजनामा पनि एक लाख नै परेको छ । 

गोरखाको कोयापानी–चौताराभञ्ज्याङ–धावा–बालुवाटार सडक स्तरोन्तति गर्न १ लाख रुपैयाँ बजेट परेको छ । 

गोरखाकै बिमिरे–दार्मीचौर–आँपपिपल–सिम्पानी सडक र सातदोबाटो–बाघडाँडा–गाईखुर सडकले पनि एक–एक लाख रुपैयाँ बजेट पाएका छन् ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत खर्च गर्ने गरी स्याङ्जाको पुतलीबजार–सतौन–दरौन–पञ्चमूल–आरुचौर सडक र तीनदोबाटो–चिताडाँडा–साङ्लिन मैदान सडकले पनि एक–एक लाख रुपैयाँ बजेट पाएका छन् ।

झापाको भद्रपुरको तेलकानी सडक स्तरोन्नति र तेह्रथुमको लसुनेमा शहीद स्मृति पार्क र सभाहल निर्माण लगायतका योजनामा पनि एक लाख रुपैयाँ बजेट राखिएको छ ।

संसदमा प्रस्तुत बजेटमा यस्तो देखेपछि सांसदहरुले ‘९९ बजार’ सम्झिँदै ‘हर माल ९९ वाला बजेट’ भनेर ब्यङ्ग्य गरेका हुन् ।

शहरी विकास मन्त्रालयका ९१ वटा योजनामा एक/एक लाख रुपैयाँ परेको छ । शिक्षा मन्त्रालयको मदनमण्डारी विश्वविद्यालय, योगमाया आर्युवेद विश्वविद्यालय सञ्चालन गर्ने योजनामा एक/एक लाख रकम छुट्याइएको छ । स्मार्ट सिटी बनाउने सरकारी योजनामा पनि एक लाख नै परेको छ । यस्तो देखेपछि सांसद कार्कीले ‘९९ बजार’ सम्झिँदै ‘हर माल ९९ वाला बजेट’ भनेर ब्यङ्ग्य गरेकी हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise