२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

जो आन्दोलनबाट उठे

shivam cement
जीवन शर्मा
२०८२ कार्तिक १५ गते ०६:२५
जो आन्दोलनबाट उठे

काठमाडौं : भनिन्छ, हरेक आन्दोलनले नेता जन्माउँछ । २००७ सालको क्रान्ति होस् वा २०४६ सालको संयुक्त जनआन्दोलन । २०६२/६३ को जनआन्दोलन वा माओवादी सशस्त्र विद्रोह अथवा मधेश आन्दोलन सबैबाट नेता जन्मिएका छन् । तिनै आन्दोलनबाट उठेका थुप्रै नेताहरू नै दलको नेतृत्व र राज्यसत्तामा पुगेका छन् ।

परिवर्तनका हरेक आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै नयाँ विचार र एजेन्डा स्थापित भएका छन् । जुनसुकै आन्दोलनमा पनि अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्ने युवा नै नेताका रुपमा उदाएका छन् । पछिल्लो जेनजी विद्रोह (२३–२४ भदौ)ले पनि केही नयाँ अनुहारलाई राजनीतिमा प्रवेश गराएको छ । शीतल निवासदेखि बालुवाटारसम्मका छलफलमा आशालाग्दा अनुहार देखिन थालेका छन् । राजनीतिमा नयाँ धारको गृहकार्य हुन थालेको छ । अनि, निर्वाचन आयोगमा नयाँ दल दर्ताको लहर चलेको छ । यसले नेपाली राजनीतिमा विकल्पको खोजी भइरहेको संकेत मिल्छ । 

संयोग नै मान्नुपर्छ, नेपालमा हरेक दशकमा ठूला आन्दोलन वा उथलपुथल हुनेगरेको छ । ती परिवर्तनबाट मुलुकले नयाँ नेता पाउँदैआएको पनि छ । युवाको आन्दोलन भ्रष्टाचार र नेपोबेबी विरुद्ध थियो । तर, ट्रिगर बनेको थियो, सामाजिक सञ्जाल बन्द गराउने तत्कालीन सरकारको निर्णय । रोचक त के भने युवाहरु सामाजिक सञ्जालबाटै संगठित भएर आन्दोलनमा उत्रिएका थिए । 

प्रहरीले गोली चलाउँदा बानेश्वरस्थित संसद् भवन अगाडि १९ जना जेनजी आन्दोलनकारीको घटनास्थलमै मृत्यु भयो । देश शोकमा डुब्यो । नागरिकहरू सरकार र राजनीतिक दलप्रति थप आक्रोशित बने र २४ भदौको प्रतिरोधमा उत्रिए । त्यसको लाभ उठाउँदै पर्दाभित्रबाट थुप्रै समूह सक्रिय भए । जिम्मेवार जेनजी अगुवाहरुले रोक्दारोक्दै देशले विगतमा कहिल्यै नभोगेको ठूलो विध्वंश ब्यहोर्नुपर्‍यो । 

आन्दोलनमा केही राजनीतिक कार्यकर्ता र आन्दोलनलाई भड्काउने केही व्यक्तिसमेतको घुसपैठले शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेको राजनीतिक दलका नेताहरूले दाबी गरिरहेका छन् भने त्यसलाई जेनजी आन्दोलनकै अगुवाहरूले समेत स्वीकार गरेका छन् । आन्दोलनका अगुवा खेमराज साउदले जेनजीको शान्तिपूर्ण र सभ्य आन्दोलनमा केही राजनीतिक कार्यकर्ताको प्रवेशले पनि हिंसात्मक र उत्तेजित बनाउन भूमिका खेलेको बताए । अन्य आपराधिक गतिविधि गर्नेहरूसमेत एकै मैदानमा उत्रिएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयलगायत सरकारी संरचना, प्रहरीचौकी, दलका कार्यालय र नेताका घरहरू आन्दोलनकारीको निशानामा परेर ध्वस्त भएको सबैतिरबाट दाबी गरिएको छ । आन्दोलनलाई व्यवस्थित बनाउन खटिएका सुरक्षाकर्मीका बुट, बर्दी र हतियार मात्रै खोसिएनन् तीन जना प्रहरीसमेत मारिए । शीर्ष दलका शीर्ष नेताहरूको घर, केही व्यापारिक कम्प्लेक्समाथि आगजनी, लुटपाट भयो । नेताहरूका घरबाट पैसाका बिटा जलेर खरानी भए । जेनजीको आन्दोलनले यस्तो विध्वंंसात्मक रूप लिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उनको क्याबिनेटका २२ मन्त्री, दलका नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा अवतरण गरायो । उनीहरू १० दिनसम्म सेनाकै कब्जामा लुक्नुपर्ने अवस्था आयो । सोही आन्दोलनका कारण देशभर ७६ जनाले ज्यान गुमाउनुपर्‍यो । यद्यपि आन्दोलनका क्रममा ४१ जनाको ज्यान गएको र अन्यका हकमा आगजनी, लुटपाट र तोफोड संलग्न हुुँदा आफैं जलेर मृत्यु भएको तथ्यांक सुरक्षा संयन्त्रले निकालेको छ । 

सोही आन्दोलन हिंसात्मक भएर भड्किएपछि ३० घण्टाभित्रै सत्ता उलटफेर हुन पुग्यो । सुरुमा नेतृत्वविहिन उक्त आन्दोलन उत्कर्षमा पुग्दा केही नेताहरु उदाएका छन् । 

जेनजीले यसरी सत्ता कब्जा गरेपछि नेपाली सेनाको समन्वयमा जेनजी अगुवासमेतको सहमतिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनको तीन दिनपछि नागरिक सरकार गठन गरे । प्रतिनिधि सभा विघटन गर्ने सर्तसहित पूर्वप्रधानन्यायाशीध सुशीला कार्कीको नेतृत्वमा ६ महिनाभित्र चुनाव गराउने गरी अन्तरिम सरकार गठन भएर सो सरकारले काम गर्दै आएको छ । वर्तमान सरकारलाई जेनजी पुस्ताका नेताहरूको साथ समर्थन र सहयोग छ । सरकारमा समेत जेनजीको प्रतिनिधित्व गराइएको छ । जेनजी आन्दोलनले केही परिवर्तनको प्रत्याभूत गरे पनि परिणामका हिसाबले कम प्रगति देखिन्छ । विश्लेषक शंकर दाहाल दलहरूको कार्यशैली, नेता तथा प्रशासनिक संयन्त्रबाट बढ्दो भ्रष्टाचार, कुशासन र नागरिकले निःशुल्क पाउने सेवा प्रवाहमा हुने घुसिया प्रवृत्तिप्रतिको आवेश र आक्रोशका रूपमा आएको आन्दोलन भएको बताउँछन् । 

एउटा उमेर समूहले गरेको आन्दोलन भएकाले संस्थागत बनाउन आफैंमा चुनौती रहेको उनको भनाइ छ । युवाहरूले थालेको आन्दोलनलाई आमरूपमा सहयोग भएर मात्रै सम्भव भएकाले नागरिकको अपेक्षाअनुसार दलहरू सच्चिएर नयाँ ढंगले मुलुकलाई लैजानुपर्ने दाहालको सुझाव छ । ‘जेनजीले गरेको आन्दोलनलाई जेनजीले मात्रै संस्थागत गर्न सक्दैनन्’ उनले भने, ‘राजनीतिक दल सुध्रिएर आन्दोलनका उपलब्धि संस्थागत गर्न लाग्नुपर्छ । आन्दोलनमा अगुवाइ गरेका र पछिल्लो सरकार निर्माणदेखि अहिलेसम्म विभिन्न संवादमा जुटेका युवा पनि त्यहाँ समावेश हुुनुपर्छ ।’

अधिकारकर्मी मोहना अन्सारी दलहरुले राजनीतिमा ल्याउन नसकेका युवाहरु आफै मैदानमा आएको रुपमा हेर्नुपर्ने बताउँछिन् । ‘यत्तिका वर्ष इग्नोर गरिएको उमेर समूह आफै आएका छन् । जो मलाई राजनीति मन पर्दैन भन्थ्यो । दल र नेता मन पराउँदैनथ्यो’ उनी भन्छिन्, ‘दलहरुले रिझाउन नसकेका युवालाई रिझाएर उनीहरु नेता बनेर आएका छन् । उनीहरुलाई संरक्षण र सुरक्षित गरेर देशलाई सही दिशामा लैजानुपर्छ ।’ 

जेनजी विद्रोहको सन्देश स्थापित दलहरुले पनि भित्रैदेखि मनन गर्नुपर्ने उनको भनाइ छ । ‘नयाँ पुस्तासँग सिर्जनशिलता छ, विषयको ज्ञान छ । अब अवसरको खाँचो छ’ अन्सारीले भनिन्, उनीहरु आफै संगठित भएर पार्टी निर्माण गर्न पनि सक्छन्, नसके त्यो उमेर समूहलाई दलहरुले नेताका रुपमा अघि बढाउनुपर्छ ।’ 

जेनजीका अगुवा विस्तारै नेतृत्व विकासको तहमा देखिँदै आएका छन् । उनीहरू स्वतन्त्र व्यक्ति, स्वतन्त्र निर्वाचित जनप्रतिनिधि, जेनजी आन्दोलनका मृतक परिवार, घाइते, आन्दोलनको नेतृत्व गरेका युवा र वैकल्पिक शक्ति एक भएर जाने विषयमा छलफलरत छन् । सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनमा सबै एकजुट हुने तयारी भइरहेको  जेनजी नेताहरूले दाबी गरेका छन् । युवाहरू विभिन्न समूहमा विभाजित देखिँदा आन्दोलनको मूल मर्मको विषय ओझेल परेजस्तो देखिए पनि केही समयमै आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने चरणमा अघि बढेको युवाहरूले बताएका छन् । 

ADV

सम्बन्धित खबर