२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

कोशी प्रदेश समन्वय परिषद् कतारले अधिवेशनको खुला सत्र सकिएको ६ दिन बित्दा पनि पाएन नयाँ नेतृत्व

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज १० गते १७:५५
कोशी प्रदेश समन्वय परिषद् कतारले अधिवेशनको खुला सत्र सकिएको ६ दिन बित्दा पनि पाएन नयाँ नेतृत्व

दोहा कतार : गत शुक्रबार कोशी प्रदेश समन्वय परिषद् कतारको तेस्रो अधिवेशनको खुला सत्र सकिए पनि अधिवेशनको बन्द सत्रबाट नयाँ कार्यसमिति बन्न सकेन । मुख्यगरी अध्यक्ष पदमा सहमति हुन नसक्दा शुक्रबार मध्यरातिसम्म सहमतिको प्रयास गरिए पनि सहमति हुन नसकेको हो । जसका कारण अधिवेशनको खुला सत्र सकिएको ६ दिन बितिसक्दा पनि नयाँ नेतृत्व पाउन सकेको छैन ।

कोशी प्रदेशको आगामी एक कार्यकालका लागि विभिन्न पदमा दोहोरो र केही पदमा निर्विरोध विजयी भइसके पनि संस्थाको नेतृत्वमा पुग्न अध्यक्ष पदमा फरक-फरक तीन जिल्लाका तर्फबाट तीन जनाले निर्वाचन समितिसमक्ष उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेहरूमा ताप्लेजुङका दुर्गा प्याकुरेल, भोजपुरका गोपाल बस्नेत र धनकुटाका पदम घिमिरे रहेका छन् । कोशी प्रदेशको निवर्तमान कार्यसमितिका का.वा. अध्यक्षको जिम्मेवारी सम्हालेका र अधिवेशनको खुला सत्रका सभापति समेत रहेका अध्यक्ष पदका आकांक्षी प्याकुरेलले मध्यान्हकर्मीसँग कुरा गर्दै बहुमत जिल्ला संस्थाले गरेको निर्णय आफू मान्न तयार रहे पनि सर्वसहमतिमा नेतृत्व चुनिनुपर्ने आफ्नो पहिलो सर्त रहेको बताए । सर्वसहमति नभए विकल्पमा निर्वाचनमा जान आफू पनि तयार रहेको उनको धारणा थियो । उनले आफ्नो उम्मेदवारीलाई राजनीतिक नजरले हेरिएकोप्रति लक्षित गर्दै कोशीमा आफ्नो योगदानको अपमान भएको महसुस भएको बताए ।

त्यस्तै अध्यक्ष पदका अर्का आंकाक्षी बस्नेतले अधिवेशनमार्फत विभिन्न पदमा आकांक्षी रहनु या बढ्नु स्वाभाविक रहेको बताउँदै शुक्रबार राति आंकाक्षीहरुबीच सहमति हुन नसकेको स्वीकारे । उनले राजनीतिक हस्तक्षेप र आफू परिचालित रहेको भन्ने आरोपलाई अस्वीकार गरे । उम्मेदवारी फिर्ता गर्ने समयसीमा सकिएपछि निर्वाचन समितिले आकांक्षीहरु मिलाउन जिल्ला अध्यक्षहरुलाई जिम्मा लगाएसँगै सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेको उनले बताए । बस्नेतले शुक्रबार राति नै बन्द सत्रमा जिल्ला अध्यक्षले मत दिएर प्रदेशको अध्यक्ष चुन्ने प्रक्रियामा जान लाग्दै गर्दा दुर्गा प्याकुरेलले अस्वीकार गरेपछि सहमति हुन नसकेको खुलासा गरे । बिहीबार साँझ निर्वाचन समितिले बैठक बोलाएको हुँदा सहमति हुनेमा उनी आसावादी देखिए ।

अर्का आकांक्षी धनकुटाका पदम घिमिरेले दुई जनाबीच सहमति भए आफूले उम्मेदवारी फिर्ता लिने भनि बचन दिए पनि प्याकुरेल र बस्नेतबीच सहमति नभएका कारण आफ्नो उम्मेदवारी कायम रहेको स्पष्ट पारे । उनले जिल्ला अध्यक्षका निर्णय मान्न आफू तयार रहेको बताउँदै बजारमा चलेको राजनीति हाबी भएको कुरा अस्वीकार गरे । उनले १ सय ५७ जना परिषदबाट नै मत आउनुपर्ने तर्क प्याकुरेलले बन्द सत्रमा अगाडि सारेसँगै थप समस्या सिर्जना भइ सहमति नभएको प्रष्ट पर्दै सामाजिक संस्थामा मिलेर जानुको विकल्प नरेको बताए । उनले आफू र धनकुटा सहमतीय बिन्दुबाट अगाडि जान प्रतिबद्ध रहेको बताए ।

अध्यक्ष पदका आकांक्षीबीच सहमति हुनेबित्तिकै अन्य पदमा सहमति जुट्ने आकांक्षीहरू बताउँछन् । अधिवेशनको खुला सत्रमा शुभकामना मन्तव्य राख्ने वक्ताहरू राजनीतिक कोणबाट प्रवेश गर्दै कोशीको कार्यसमितिको नेतृत्वमा दाबी गरेको हुँदा सहमति हुन नसकेको अधिवेशनमा सहभागी एक परिषद् सदस्यले मध्यान्ह दैनिकलाई बताए । उनले कोशीमा राजनीति निकै हाबी भएको आफूले महसुस गरेको पनि दाबी गरे ।  समितिको महासचिव र कोषाध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदहरूमा सहमति हुन बाँकी रहेको बुझिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise