२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

कपिलवस्तु अस्पतालमा अल्ट्रासाउन्ड सेवा ठप्प

ADV
शहबाज खान
२०८१ असोज १० गते २२:१७
कपिलवस्तु अस्पतालमा अल्ट्रासाउन्ड सेवा ठप्प

कपिलवस्तु : तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा अल्ट्रासाउन्ड सेवा ठप्प भएको छ । अल्ट्रासाउन्ड सेवा ठप्प हुँदा सेवाग्राहीले सास्ती भोग्दै निजी क्लिनिकमा जान बाध्य भएका छन् । निजी क्लिनिकमा सेवा लिँदा स्वास्थ्य बीमा सेवाबाट समेत सेवाग्राही वञ्चित भएका छन् । चर्को गर्मी र बर्खामा गर्भवती महिलालाई निजी क्लिनिक धाउन निकै समस्या भएको एक सेवाग्राहीले बताए ।

कपिलवस्तु अस्पतालमा कुल चारवटा अल्ट्रासाउन्ड मेसिन रहेको छ । जसमध्ये एउटा प्रोटेबल मेसिन हो, जुन प्रसुती र आइसियु कक्षमा मात्र प्रयोग हुने गरेको छ । कपिलवस्तु अस्पतालका सूचना अधिकारी रत्नाकर शुक्लले प्रोटेबल बाहेक बाँकी तीन वटा अल्ट्रासाउन्ड मेसिन बिग्रिएको अवस्थामा रहेको बताए । 
उक्त मेसिन ओपीडीमा आएका बिरामीलाई चेकजाँच गर्न प्रयोग हुने गरेको थियो । शुक्लका अनुसार दुई वटा मेसिन लामो समयदेखि बिग्रिएको छ भने एउटा मेसिन हालै खराब हुँदा प्रयोग विहीन बनेको छ ।

यस्तै उक्त बिग्रिएका मेसिन बनाउन किन ढिलाइ गरिएको भन्ने प्रश्नमा सूचना अधिकारी शुक्लले सो मेसिन बनाउने इन्जिनियर नेपालमा उपलब्ध नभएको र भारतबाट इन्जिनियर बोलाउन लामो प्रकिया रहेको हुँदा बनाउन ढिलाइ भएको दावी गरे । उनले मेसिन बिग्रिएको सामान किन्न करिब सात लाख लाग्ने र बनाउन एकदेखि दुई लाखसम्म लाग्न सक्ने बताए । शुक्लले छिट्टै अल्ट्रासाउन्डको एउटा मेसिन मर्मत गरी सेवा प्रवाह गर्ने प्रयास भइरहेको बताए ।

अल्ट्रासाउन्ड मेसिन नबिग्रेको र चिकित्सकहरुबीच नै केही असमझदारी र मनमुटावका कारण अल्ट्रासाउन्ड सेवा प्रभावित भएको भन्ने विषय समेत बाहिर आएको छ । यस विषयमा सूचना अधिकारी शुक्लसँग प्रश्न गर्दा यी सबै आरोप निरार्थक र तथ्यहीन भएको दाबी गरे । उनले मेसिन बिग्रिएको बताउँदै हाल अस्पताल आर्थिक र जनशक्ति अभाव लगायत संकटबाट गुज्रिरहेको हुँदा सेवा प्रभावमा केही कमीकमजोरी  अवश्य भएको बताए । यस विषयमा कपिलवस्तु अस्पतालका अध्यक्ष शिवलाल यादवसँग बुझ्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

ADVADV

सम्बन्धित खबर

Advertise