२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

चाडपर्व सुरक्षा योजनाः काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

Nada
२०८१ असोज ११ गते १७:३१
Shares
चाडपर्व सुरक्षा योजनाः काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

काठमाडौं : काठमाडौं प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नारासमेत अघि सारेको छ । यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले आउँदा चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ । 

ncell

सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौंलाई विभिन्न १४ इलाकामा विभाजन गरेर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रत्येक युनिटमा १०/१० जनाको टोली बनाइ परिचालित गरिने काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले दशैं, तिहार, छठलगायत चाडपर्वका लागि काठमाडौं जिल्लाभित्र कुल तीन हजार सात सय ६५ जनशक्ति परिचालन गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक रजौरेले जानकारी दिए । 

घटनास्थलमा १० मिनेटभित्र पुग्ने गरी ‘इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम’ (इ–क्युआरटी), सिआरभी र मोबाइल टोलीलाई तयारी अवस्थामा राखिएको छ । घटनास्थलको तस्वीर तथा श्रव्यदृश्य लिन ‘गोप्रो क्यामेरा’, तैनाथीको अवस्था बुझ्न जिपिए र तत्काल रेस्पोन्सका लागि आवश्यक सामग्रीसहित इक्युआरटी टिमलाई परिचालित गरिएको छ । घटनास्थलमा थप प्रतिकार्यका लागि बढीमा ३० मिनेटभित्र यथेष्ठ प्रहरी तैनाथी हुने व्यवस्था मिलाइएको छ ।

प्रहरीले अपराध हुनसक्ने सम्भावित क्षेत्रमा पैदल, सवारी र ड्रोनमार्फत गस्ती गर्नेछ । प्रहरीले स्थानीय बासिन्दाका खाली घर, आर्थिक कारोबार हुनसक्ने स्थान, सरकारी कार्यालय, भीडभाड हुने स्थान, गरगहना पसल, बसका टिकट काउन्टर, धार्मिकस्थल, बसपार्कलगायतलाई सुरक्षा क्षेत्रका रुपमा पहिचान गरेको छ । 

सम्भावित क्षेत्रमा सूचना संकलनका लागि सादा पोसाकमा ३८ टोली परिचालित हुनेछन् । ‘सिल एण्ड सर्च’का लागि २८ तथा ‘एम्बुसिङ’ र निगरानीका लागि २२ टोली परिचालित गर्ने काठमाडौं प्रहरीको तयारी छ । काठमाडौं भित्रने नाकामा प्रत्येक दिन कुकुरमार्फत उच्च निगरानी गरिने, विभिन्न ३५ स्थानमा सुरक्षा व्यवस्थासम्बन्धी चेतना फैलाउन पर्चा वितरण गर्ने, काठमाडौंका प्रमुख १२ स्थानका टिकट काउन्टरमा सहायता कक्ष सञ्चालन गरी सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन विविध कार्यक्रम गरिनेछ । 

बैंक तथा वित्तीय संस्थामा चोरी लुटपाट हुनसक्ने, सामान किनबेच हुने स्थानमा अत्यधिक भीडभाड भइ किनबेच कार्यमा असुविधा तथा पसलहरुमा चोरी तथा लुटपाट हुन सक्नेतर्फ ध्यान दिँदै प्रहरीले निगरानी गर्नेछ । एटिएम बुथ तोडफोड गरी चोरी हुनसक्ने हुँदा सो क्षेत्रतर्फ गस्ती गरी सुरक्षा व्यवस्था मिलाइने प्रहरी नायब उपरीक्षक रजौरेले बताए ।

चाडपर्वमा लुटपाट तथा कुटपिट, चोरी, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झै–झगडा, ट्राफिक नियमको उल्लंघन, आगजनी तथा विस्फोटन, महँगो भाडा असुलीलगायत आपराधिक गतिविधि हुनसक्ने भएकाले उच्च निगरानी राखिएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले जानकारी दिए । काठमाडौंलाई सुरक्षित सहर बनाउन आमनागरिकको सावधानी आवश्यक रहेको भन्दै उहाँले काठमाडौंलाई सुरक्षित बनाउन प्रहरीले कुनै कसर नराखिने स्पष्ट पारे ।

ताजा खबर

सम्बन्धित खबर