काठमाडौं : वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर निरन्तर पानी परिरहेको छ । निरन्तरको वर्षाले सवारी आवागमन र हवाइ उडान प्रभावित भएका छन् ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले शुक्रबार बेलुकी सात बजेदेखिका सबै आन्तरिक उडानलाई रद्द गरेको छ । खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक जहाज हल्लाउने, डाइभर्ट हुने क्रम बढेपछि प्राधिकरणले मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान नगराउने निर्णय गरेको हो ।
अविरल वर्षाले देशभरका सवारी राजमार्ग समेत प्रभावित भएका छन् । सडक विभागका अनुसार चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडक खण्डको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने सडक अवरुद्ध भएको छ । यो तमोर करिडोर अन्तर्गतको सडक हो ।
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक अन्तर्गत नागढुंगा र पृथ्वी राजमार्गकै धादिङस्थित ७ किलो भन्ने स्थानमा सडक अवरुद्ध भएको थियो । पृथ्वी राजमार्गअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन निर्वाध गुड्न पाएका छैनन् ।
नारायणगढ तर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा सवारी आवागमन प्रभावित भएको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल क्षेत्रमा समेत राजमार्ग अवरुद्ध रहेको छ ।
रिडी–बालकोट–हंसपुर–प्युठान–सुर्खेत सडक खण्ड अन्तर्गत दाङको मुर्कुटी भन्ने स्थानमा सवारी आवतजात रोकिएको छ । कान्ती राजमार्गको मकवारपुर क्षेत्रमा गएको पहिरोले राजमार्ग अवरुद्ध गरेको सडक विभागले जनाएको छ ।
वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चार वटा टिप्पर र दुई वटा एक्स्काभेटर नदीको बीच भागमा फसेका छन् ।
चामे–बेँसीशहर सडकखण्ड पनि अवरुद्ध भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ काभ्रेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशमा मेघगर्जन÷चट्याङसहित वर्षा निरन्तर हुने सम्भावना छ । तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैबीच, बालाजु क्षेत्रमा मोटरसाइकल नालीमा खसेको छ । बालाजु अन्नपूर्ण चोक नजिकै बा.प्र. ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको हो । उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका अनुसार मोटरसाइकल निकालिएको छ । तर चालक बेपत्ता छन् ।