ललितपु : उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताएका छन् । नेपाल शिक्षक महासंघले शनिबार आयोजना गरेको ‘प्रथम राष्ट्रिय परिषद्’को उद्घाटन समारोहमा पुनले शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको पनि सुधार गरी शिक्षाको सुधार गर्नुपर्नेमा जोड दिए ।
पुनले शिक्षकहरु केवल बालबालिकालाई औपचारिक ज्ञान दिने गुरु मात्रै नभएर समाज सुधारक र परिवर्तनका संवाहक पनि रहेको बताए ।
नेपाली जनताले राजनीतिक रुपमा जे उपलब्धि हासिल गरेका छन् त्यसमा शिक्षकहरुको देन अग्रणी रहेको उनको भनाइ छ ।
उनले भने, ‘शिक्षा पेशा सरल र सहज देखिएपनि यो निकै महत्वपूर्ण जिम्मेवारी पेशा हो । शिक्षक पेशा जति संवेदनशील छ, यसमा सन्तुष्टि र गौरव पनि त्यति नै छ ।’
उपराष्ट्रपति पुनले भोलिको देश तथा समाज कस्तो बनाउने भन्ने कुरामा शिक्षकहरुको निकै महत्वपूर्ण भूमिका रहने बताए । आजको परिस्थिति तथा संसारलाई बुझेर त्यही अनुकूलको शिक्षण विधि अपनाएर आफ्ना विद्यार्थी तथा विद्यालयलाई उत्कृष्ट नतिजा ल्याउन निरन्तर क्रियाशील रहनु शिक्षकहरुको दायित्व रहेको उनको भनाइ छ ।
शिक्षा वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार पार्नेतर्फ केन्द्रित हुनुपर्ने उपराष्ट्रपति पुनको भनाइ छ । उनले भने, ‘उच्च शिक्षालाई सहज गुणस्तरीय र प्रत्येक नागरिकको पहुँच योग्य बनाई निःशुल्क बनाउनुपर्ने र निजी शिक्षालाई समयक्रमअनुसार नियमन गर्दै लैजानुपर्दछ ।’
संविधानमा समाजवादको संकल्प गरेअनुसारको समान शिक्षा प्रणाली हुनुपर्ने उनले बताए । शिक्षा र स्वास्थ्यमा राज्यले सापेक्षित लगानी गरे पनि अपेक्षित सुधार आउन नसकेको उनको भनाइ छ । पुनले समाजवादी व्यवस्था, आम नेपालीमा समानताका लागि शिक्षामा समानता हुनका लागि सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारको विकल्प नरहेको बताए ।
सो अवसरमा पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले शिक्षामा समस्या जकडिएर गएको बताउँदै नेपाल सरकारले केही समयअघि शिक्षामा गरेको आठाँै र नवाँै संशोधन अझै पनि निर्विवाद रहको बताए । ‘शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुने कुराको सुनिश्चितता हुनुपर्छ, जसले शिक्षाको गुणस्तर बढाउन सहयोग पनि गर्नेछ’ उनले भने । कार्यक्रममा सिइएन्टीका सहअध्यक्ष पूर्णप्रसाद दुवाडीले शिक्षा ऐन अलपत्र अवस्थामा रहेको गुनासो गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies