रुकुम पश्चिम :कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवम् प्रदेश सभा सदस्य महेन्द्र केसीले स्यार्पूतालको प्राकृतिक स्रोत नबिगार्न अनुरोध गरेका छन् ।
बाँफिकोट गाउँपालिका ३ र ५ मा फैलिएको कर्णाली प्रदेशको आकर्षक पर्यटकीयस्थल स्यार्पूतालको सुन्दरता मासेर विभिन्न संरचनाहरु बनाउने नाममा स्यार्पूको प्राण मास्ने काम भईरहेको उनको भनाई छ ।
शुक्रबार १४औं स्यार्पू बृहत खेलकुद, कषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव २०८१ को उद्घाटन गर्दै पूर्वमन्त्री केसीले पर्यटकको आकर्षण रहेको स्यार्पूतालमा आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याएर आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।
उनले प्राकृतिक सौन्दर्यता पर्यटनको विकास गर्न आवश्यक रहेको उल्लेख गरे । जिल्लाका विभिन्न स्थानमा रहेका प्राकृतिक श्रोत र साधनहरुको संरक्षण, प्रवद्र्धन र प्रचार मार्फत पर्यटनको विकास गर्न सकिने भएकोले सबैको सकारात्मक साथ र सहयोग हुनुपर्नेमा उनको जोड थियोे ।
पर्यटन, कला र सस्कृतिको धनि जिल्ला रुकुम भएकोले यसको सदुपयोग गरेर समृद्धि हासिल गर्न सकिने केसीले जिकिर गरे ।
उनले पर्यटन मार्फत स्यार्पुतालको मुहार फेर्न सकिने सम्भावना रहेको र त्यसका लागि आफू मन्त्री हुँदा आवश्यक बजेटको व्यवस्थापन समेत गरेको जानकारी दिए ।
महोत्सवको उद्घाटन सत्रमा निमित्त प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, नेपाली कांग्रेसका जिल्ला उपसभापति हर्क सिं खत्री, नेकपा (एमाले) का जिल्ला सचिव शशिराम परियार, नेकपा (माओवादी केन्द्र) का नेता चन्द्रबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता विनोद शाह, बाँफिकोट गाउँपालिकाका पूर्व अध्यक्ष धर्मबहादुर केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष तारा बुढा केसीको स्वागत मन्तव्य रहेको थियोे भने कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार बिकले गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयहरुले साँस्कृतिक प्रस्तुतीहरु राखेका थिए । बाँफिकोट गाउँपालिकाको आयोजनामा शुरु भएको महोत्सव असोज २३ गतेसम्म चल्ने बताईएको छ ।