नेपालीहरुको महान् चाड दशैं, तिहार तथा छठको रंगले बिस्तारै सवैलाई छुदै गएको छ । आम साधरणले मात्रै नभइ सरकारले पनि चाडपर्व लक्षित कार्यक्रमको तयारीलाई तीव्र पारेको छ । यो वर्षदेखि दशैं बाहेक अन्य चाँडहरुमा पनि सुकिला नोट सटहीको व्यवस्था गर्ने नीति लिएको छ । दशैंका लागि भनेर नेपाल राष्ट्र बैंकले उपत्यकाका २६ र देशभरका सात प्रमुख शहरमा नोट सटहीको व्यवस्था गरेको छ ।
नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि टिकट खुला गरेको छ । देशका ३२ विमानस्थलमा उड्ने नेपाल वायु सेवा निगमका विमानस्थलका लागि नेपाल उड्ययन प्राधिकरणले टिकट बुकिङ खुला गरेको छ । यसपटक सरकारले ७० वर्ष नाघेका बृद्धहरुलाई ५० प्रतिशत भाडा छुट सहित टिकट खुला गरेको छ । यसले दशैंका बेला टाढा पुग्न कठिन हुने बृद्धबृद्धाका लागि यो प्याकेजले थोरै भएपनि राहत मिल्ने पक्का छ ।
हवाई बाहेक सडक यातायात मार्फत् राजधानी उपत्यका सहित देशका विभिन्न शहरमा बसेकाहरुलाई गाउँसम्म पुग्न टिकट बुकिङको कार्यक्रम खुला गरिसकेको छ । घरसम्म पुग्न मात्रै होइन, घर लैजाने कोशेलीका लागि ठूला अफरहरु दिनहु सार्वजनिक हुने क्रम बढेको छ । विशेषगरी व्यापारिक हाउसहरुले चाँडपर्व लक्षित कार्यक्रम सार्वजनिक गरिरहेको छ । उपभोग्य होओन् अथवा निर्माणका सामग्रीमा विशेष छुटको प्याकेज घोषणा भइरहेकै छ । आम साधरणमा पनि किनमेल गर्ने तयारी नजिकिदै गएको छ । गाउँमा रहने आफन्तलाई कोशेली, उपहार तथा आफन्तलाई नै नयाँ सामग्री खरीदको योजना लगभग बनिसकेको छ ।
तर, यस पटक पनि दशैंतिहार तथा छठजस्ता चाड नजिकिएसँगै मूल्य बृद्धि पनि आकाशिएको छ । राजधानी उपत्यकामा उपभोग्य सामग्रीको मूल्य आकाशिएको छ । अर्कातिर कृतिम अभाव सिर्जना गर्नेको कमी देखिएको छैन । पोशाकमा मात्रै होइन, दिनहुको भातभान्सामा प्रयोग हुने सामग्रीको मूल्य समेत बढेको छ । यसले कम आय हुने नागरिकमा सास्ती बढेको छ ।
अर्थात् यस पटक पनि घरसम्म पुग्ने यातायात टिकटदेखि साथ लिएर जाने सामग्रीसम्ममा कालोबजारी रोकिने कुनै छाँट देखिदैन । यसले जनतामा परिवर्तनको अनुभूति हुन अवस्था देखिदैन । तसर्थ, बलियो सरकारले अघिल्लो पटकजस्तै आलोचना हुनबाट बच्न र वास्तविक बजार कायम राख्दै जनतामा सरकारप्रति हुने निराशा कम गर्ने अवसर समेत हो, यो दशैं । त्यसैले सरकारले हरेक क्षेत्रमा हुने दलाली र कृतिम मूल्य बृद्धि यथाशिघ्र रोक्न जरुरी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies