२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

सहकारी बचत अपचलनः सकियो छविलालको बयान

ADV
अस्मिता बम
२०८१ असोज १४ गते ०६:४०
सहकारी बचत अपचलनः सकियो छविलालको बयान

काठमाडौं : सहकारीको रकम अपचलन प्रकरणमाथिको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सकिएको छ । 
सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका जोशीको बयान सकिएको हो । जिल्ला सरकारी वकिलको उपस्थितिमा कास्की प्रहरीले जोशीसँग बयान लिएको हो ।

कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाका अनुसार उनको बयान सकिएको छ । बयानका आधारमा अदालतमा पेस गर्ने तयारी छ । उनका अनुसार आवश्यक प¥यो भने फेरि पनि थप बयान लिइनेछ । जोशीलाई सुरुमा ५ दिनको म्याद दिइएको थियो । बयान र अनुसन्धान नसकिएको भन्दै थप ७ दिन म्याद थपिएको थियो ।जोशी यही असोज ६ गते काठमाडौँबाट पक्राउ परेका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने जोशीलाई सरकारले पक्राउ गर्दा प्रक्रिया नपुगेको टिप्पणी गरेको छ । रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले यस्तो टिप्पणी गरेको हो । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जोशीलाई कुन आधारमा पक्राउ गरेको भन्ने प्रश्न रहेको बताए । 

‘छविजीलाई जुन प्रक्रियाले पक्रेको छ त्यसको विरोध छ प्रक्रिया मिलेन । कुन आधारमा पक्रेको हो ?’ उनले भने । 

पार्टी सभापति रवि लामिछानेको विषयमा पनि पक्रिया पुरा गरेर आए सरकारलाई सहयोग गर्न रास्वपा तयार नै रहेको उनले बताए । अन्यथा सहयोग नगर्ने उनको आशय छ । 

‘प्रक्रियागत रूपमा अघि आए हामी सहयोग गर्न तयार छौँ । योभन्दा अघि पनि स्टुडियोमा गएर समातेको हो । नागरिकताको पद जाँदै गर्दा पनि हामी चुप लागेर उपनिर्वाचनको तयारीमा जुटेका हौँ‚’ उनले भने ।

फेरि पनि आफूहरु तयार नै रहेर बसेको उनले बताए । उनी थप्छन्, ‘यसपटक पनि हामी तयार छौँ । तर सरकार प्रक्रिया पु¥याएर आउनुपर्छ ।’ 

सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदन बुझाएसँगै प्रहरीले आन्तरिक अनुसन्धान तीव्र पारेको छ । यसक्रममा जोशी पक्राउ परेका थिए ।

जोशी पक्राउ परेसँगै पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई समेत पक्राउ गर्न खोजिएको थियो । असोज ६ गते पार्टी कार्यालयमै प्रहरीहरू पुगेका थिए । तर, लामिछाने पक्राउ परेनन् । 

ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी)ले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा लामिछाने समेत संलग्न रहेको आरोप लागेको छ । 

सहकारीको रकम जीबी राईले नेतृत्व गरेको गोर्खा मिडिया नेटवर्टमा पुगेको र त्यो रकम लामिछानेको हस्ताक्षरमा खर्च भएको संसदीय समितिको निष्कर्ष छ । त्यसमा पूर्वडीआईजी छविलाल जोशीको समेत संलग्नता देखिएपछि उनीहरू दुवै जनालाई कारबाही सिफारिस गरिएको छ ।

लामिछाने ग्यालेक्सी टेलिभिजनका सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकसमेत रहेका थिए । पूर्वडीआईजी जोशी सेयर सदस्य र सञ्चालक सदस्य हुन् । जोशी पक्राउ परेसँगै लामिछानेमाथि उच्च निगरानीमा रहेका हुन् । 

२०७७ माघदेखि लामिछाने ग्यालेक्सी टेलिभिजनमा जोडिएका थिए । पाँच करोडमध्ये लामिछानेले सहकारीकै ७५ लाख रुपैयाँ तिरेर १५ प्रतिशत सेयर पाएको खुलेको छ । त्यस्तै, जीबी राईको ५० र छविलाल जोशीको ३५ प्रतिशत सेयर कायम गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise