२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

Nada
२०८१ असोज १४ गते १५:०२
Shares
बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित

ललितपुर : शुक्रवारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्‍यायो।

ncell

ललितपुरको टीका भैरव भएर बग्ने नख्खु खोला छेउका बस्ती पूर्ण रूपमा डुबानमा परे । घर, पसल र वासस्थानमा पानी पसेर यहाँको जनजीवन, व्यापार, व्यवसाय अस्तव्यस्त छ । खोला किनारामा बसोबास गर्नेहरूको टहरासहित सबै सरसामान बगाएको छ ।

शनिबार बेलुकीदेखि नख्खु खोलाको बहाव घटेपछि बाढीपीडितहरू बाढीबाट जोगिएका तर निथ्रुक्क भिजेका सर समानको व्यवस्थापनमा जुटेका छन् । हाल घर, पसल तथा भवनका कोठाभित्र पसेको लेदो हटाउने काम भइरहेको छ । मोटरसाइकल, गाडीलगायत धेरै सामग्री बगाएको कतिपय बाढीपीडितको भनाइ छ ।

बाढीले आफ्ना छ बङ्गुर र ७० हाँस तथा लोकल कुखुरा बगाएको ललितपुर महानगरपालिका–१८ नख्खु पुल छेउमा बस्दै आएकी रेणुका लिम्बूले बताए । उनले भने, “शुक्रबार राति १२ बजे कोठाभित्र पानी पसेको थियो । पानी पस्ने बित्तिकै सामान अर्को ठाउँमा सार्दै थियौँ । सामान सार्दासार्दै खोला बढ्दै गएर बिहान ७ बजेसम्म सबै बगायो । हाम्रो मात्र होइन, अरूको पनि धेरै क्षति भएको छ ।”

ललितपुर महानगरपालिका–१४ नख्खु डोल र ललितपुर वडा नं २५ भैँसेपाटी जोड्ने पुलमा बाढीले क्षति पुर्याएपछि अहिले आवतजावतमा रोक लगाइएको छ । नख्खु डोल पुल छेउमा बसोबास गर्नेको अस्थायी टहरा सबै बगाएको छ । खोलाले डुबाएको सरसामान व्यवस्थापनका लागि आफन्तको सहायता लिएर जुटेका छन् । करिब रु १३ लाख लगानी रहेको नर्सरी र अस्थायी टहरामा रहेको सबै सरसामान बगाएको स्थानीय रोम रानाको भनाइ छ ।

उनले भने, “समाचारकानुसार बाढी आउला कि भनेर हामी सचेत त थियौँ तर तत्काल सरसामान अर्को ठाउँमा सार्ने अवस्था भएन । जब राति कोठामा पानी पस्यो त्यसपछि महत्त्वपूर्ण कागजपत्र निकाल्न भ्यायौँ, अरु सबै बाढीले बगायो । अब के खाने र कहाँ बस्ने भन्ने चिन्ता छ । तत्कालका लागि त आफन्तकहाँ बसेका छौँ ।”

त्यसै गरी नख्खु डोलमा पाँच वटा पसल बगाएको छ । अस्थायी टहरामा सञ्चालित पसल पूर्ण रूपमा बगाएकाले कति क्षति भएको छ भन्ने यकिन गर्न नसकिएको स्थानीय बताउँछन् । दुःखले जोडेको सबै सामान बगाएकामा बाढीपीडित नारायण सुनुवार हाल निकै चिन्तामा छन् । “म मजदुरी गरेर जीविका चलाउने मान्छे हुँ । काम गरी खाने सबै सामग्रीसमेत बगाएको छ । अब कहाँ बस्ने, के खाने भन्ने चिन्ता छ । अहिलेसम्म कतैबाट राहातको व्यवस्था भएको छैन । ज्यान जोगिए पनि लत्ताकपडा र अत्यावश्यक सबै समान बगाएको छ”, उनले भने ।

नख्खु खोलाले क्षति पुर्‍याएको ठाउँमा तत्काल विद्युत्, पानी र बाटोको व्यवस्थापनमा जुट्ने ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले बताए । उनले भने, “नख्खु खोलाले क्षति पुर्‍याएकोमा हामी निकै दुःखी छौँ । हाम्रो वडामा अवरोध भएको बाटो, विद्युत् र खानेपानी आपूर्ति व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएर व्यवस्थापनमा लागिरहेका छौँ ।”

ताजा खबर

सम्बन्धित खबर