२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

ADV
मध्यान्ह
२०८१ असोज १५ गते ११:२२
पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

सिन्धुलीः सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर  फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए ।

गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दशैँअघि थन्क्याई सक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन् ।

जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ । ‘जेठ २९ गते रु ८० हजार खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ । सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने ? चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन’, उनले भने । किसान श्रेष्ठले २२ रोपनीबाट एक सय मुरी धान भित्र्याउने गरेका थिए । यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो ।

सुनकोशी–१ गोइरीकी कृष्णमाया तोलङ्गेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताए । तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उनले सुनाए । बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्कानिए । सुनकोशी–१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो । यसैबाट निर्वाह भएको थियो, पाँच जना परिवारको जीवन । पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उनलाई यतिबेला चिन्ता बढेको छ । 

नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ । सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए ।
 
गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ । सुनकोशमा आएको बाढीले विशेषगरी गोलञ्जोर–७ को बेसीँफाँट, वडा नम्बर ६ को बलेनी, हैवारी क्षेत्र, वडा नम्बर २ को कुखुरेटार, ३ नम्बर वडाको मुर्गी, दिङदिङबेँसी र वडा नं १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उनले बताए । 

हरिहरपुरगढी गाउँपालिकामा वाग्मती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ । हरिहरपुरगढी–१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ ।

भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकारसँग पनि केही आशा छैन । 

जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताए । उनले भने, ‘तीन दिनको अविरल वर्षासँगै आएको हुरी र बाढीपहिरोले जिल्लाको सबै पालिकाको धान बालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।’

कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आकलन छ । क्षति विवरण सङ्कलन भइरहेको उनले बताए । क्षति विवरण यकिन भएपछि सोही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उहाँ बताउँछन् । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष सिन्धुलीको ११ हजार एक सय ८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए । राधिका बुढाथोकी/रासस

ADVADV

सम्बन्धित खबर

Advertise