२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

‘बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिन्छु’

ADV
मध्यान्ह
२०८१ असोज १७ गते १२:००
‘बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिन्छु’

काठमाडौँ  : सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने भएका छन् ।

उपरजिस्ट्रार घिमिरेले नै गोपालकृष्णविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार पारेका थिए । तर, उनले गएराति फेसबुक स्टाटस लेखेर उक्त प्रतिवेदन फिर्ता लिने बताएका छन् । उनले आफूमाथि दबाब आएको संकेत गर्दै मुद्दा फिर्ताका लागि निवेदन दिने जनाएका छन् ।

‘म हिजोदेखि निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैँ यसकै लडाइँ लड्नुभयो,’ उपरजिस्ट्रार घिमिरेले लेखेका छन्, ‘बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु ।’

अदालत खुला भएपछि औपचारिक रूपमा बारका अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ताका लागि निवेदन दिने उपरजिस्ट्रार घिमिरेले जानकारी गराएका छन् । ‘अदालत खुला हुँदा आफ्ना भनाई सहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिनँ,’ घिमिरेले भनेका छन् ।

घिमिरेले एकदिन स्वतन्त्र हुन चाहेको बताएका छन् । घिमिरेले त्यसअघि अर्को स्टाटसमा लेखेका छन्, ‘३६४ दिन आज्ञापालक कुकुर जस्तै बनियो । एक दिन स्वतन्त्र हुन चाहन्छु ।’ पहिलो स्टाटस लेखेको ४ घण्टापछि उनले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दामा तयार पारेको प्रतिवेदन फिर्ता लिने घोषणा गरेका हुन् ।

सर्वोच्च अदालत प्रशासनले असोज १४ मा बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलनाको मुद्दा दर्ता गरेको थियो । न्यायपरिषद्को न्यायाधीश सिफारिससम्बन्धी निर्णयमाथि आलोचना गरेको विषयलाई लिएर बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise