चाडबाडमा सांस्कृतिक शक्ति लुकेको नहुँदो त भित्तामा झुण्डिएको भित्तेपात्रोले मात्रै जनमनमा यति बिघ्न उत्साह कसरी ल्याउन सक्दो हो ? भित्तेपात्रोले मात्रै उत्साह ल्याउँदो हो त हरेक दिन आममानिस उत्साहले पुरिएका हुन्थे । किनभने, कुनै दिवस र चाड अंकित नभएको दिन विरलै हुन्छन् । यसर्थ प्रष्ट भन्न सकिन्छ । भित्तेपात्रोले मात्रै उत्साह ल्याउँदैन ।
त्यसैले त आयातित र नवनिर्मित घटना भित्तेपात्रोमा त कैद हुन्छन् । तर भित्तेपात्रोमा कैद ती दिवस र संकेतले आममानिसमा ऐतिहासिक र रैथाने चाडबाडले जसरी उत्साह ल्याउँदैन । समुदाय, क्षेत्र र प्राकृतिक ऐतिहासिकताका आधारमा चाडबाडको प्राथमिकरण हुन्छन् । जस्तो– इस्लाम धर्म मान्ने समुदाय, बौद्ध धर्म मान्ने समुदाय, हिन्दू धर्म मान्ने समुदाय लगायतका आधारमा त्यस्ता चाडबाडका प्राथमिकरण हुन्छन् । भूगोलले पनि चाडबाडको प्राथमिकरण गरिएका हुन्छन् ।
नेपालकै पनि हिमाली भेग, पहाडी र तराई–मधेशका समुदायले आफ्नो चाडको प्राथमिकरण गरेका छन् । हिमाली भेगमा ल्होसार प्रधान होलान्, पहाडमा दशैंतिहार लगायत र मधेशमा छठ । तर, जहाँ जसले जस्तोसुकै चाडलाई प्राथमिकता दिए पनि यसको साझापन हुन्छन् । किनभने, चाडबाड सांस्कृतिक एकता र निरन्तरताको प्रतिरुप हुन् । अहिले सिंगो देशको बहुसंख्यकले मनाउने चाडको संघारमा हामी उभिएका छौं ।
बाटोघाटो, पुलपुलेसा, बजारदेखि जमघटहरु दशैं केन्द्रीत बनेको छ । टाढा रहेका आफन्त घर फर्कने सकसमा छन् । घरबाट टाढा रहेकाहरु एकै पटक ठूलो संख्यामा घर फर्किरहेकाले सवारीमा भीड छ । ट्राफिक व्यवस्थापनमा समस्या छ । किनमेलको चाप बढ्ने नै भयो । बदलिदो समाजले आफू अनुकुलका आवश्यकताहरु सिर्जना गरिदिएका छन् । जस्तो– विकसित प्रविधि र तद्नुरुपका साधनको खरीद गर्नुपर्ने समस्या सामान्य आय भएकालाई सजिलो छैन । हिजोको निर्भर समाज बिस्तारै परनिर्भरता तर्फ उन्मुख भएकाले यस्ता चाडबाडले बोझ अझ बढाउने तथ्य छिप्दैन ।
तसर्थ, चाडबाडले जति उत्साह ल्याउनुपर्ने हो । त्यो भन्दा बढी चिन्ता थपिएको छ । चाडबाटद्वारा सिर्जित चिन्ताको चासो नौलो पटक्कै होइन र चिन्ता हुन्छ भन्दैमा जीवन पद्दतीसँग जोडिएको चाडबाड मनाउन छोड्ने विकल्प पनि ठीक होइन । किनभने हिजो समाजलाई एकताबद्ध बनाउन र वर्षभरको थकान अनि एक्लोपन मेट्न सहयोगीसिद्ध चाडबाडको आज पनि उत्तिकै महत्व छ । बरु यसको निर्विकल्प सर्त भनेको सांस्कृतिक पर्वको उत्साह नघट्ने र चिन्ता पनि नबढ्ने बाटो रोज्नु नै हो । दशैंजस्ता चाडबाडको उत्साह बढाउनु नै हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies