रोल्पा : रोल्पाको परिवर्तन गाउँपालिकाले स्थानीय मदिरा (रक्सी) लाई ब्रान्डिङ गर्ने भएको छ । आफ्नो पालिका भित्र उत्पादन हुने खाद्यान्न र फलफूलबाट उत्पादन गरी स्थानीय रक्सीलाई ब्रान्डिङ गर्न लागेको हो ।
मकै, गहुँ, कोदो, धान, फापर, जौं, आलु लगायतको अनाजबाट र आरु, पलम, लाली गुराँस, छुत्रा, स्याउ लगायतको फलफूलबाट स्थानीय मदिरा उत्पादन गरी ब्रान्डिङ गरिने परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए ।
अध्यक्ष बुढा मगरका जानकारी अनुसार २२ असोजमा सल्लाह सुझावका लागि गोष्ठी कार्यक्रमको आयोजना गरिएको समेत जानकारी गराए । परिवर्तन गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट आयातीत मदिरा न्यूनीकरण र गुणस्तर हीन मदिरालाई निषेध गर्न स्थानीय बाली र फलफूलबाट मदिरा (रक्सी) ब्रान्डिङ गरी रोजगारी सिर्जना गरेर आर्थिक समृद्धि हासिल गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।
उक्त कार्यक्रमलाई सफल बनाउनको लागि परिवर्तन गाउँपालिकाको आयोजना तथा गण्डकी विश्व विद्यालय पोखरामा रहेको राष्ट्रिय आबिष्कार केन्द्रको सहयोगमा स्थापना भएको ट्रेडिसनल रक्सी प्रीजर्भेसन आर.एन्ड.डी सोसाइटीको सहजीकरणमा गोष्ठी हुन लागेको बताइएको छ ।
गोष्ठी कार्यक्रम २०८१ असोज २२ गते परिवर्तन गाउँपालिकाको बहुउद्देश्यीय सभाहल पुतलाचौरमा १२ बजे राखिएको छ । गोष्ठी कार्यक्रममा गाउँपालिकाभित्र क्रियाशील रहेका विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,महिला आमा समूहका प्रतिनिधि, होटल व्यावसायिक, नास्ता पसल सञ्चालक, उद्यमी लगायत इच्छुक महानुभावहरुलाई उपस्थित हुन गाउँपालिकाले आग्रह गरेको छ ।
छलफलमा अध्ययन अनुसन्धानको बारेमा छलफल हुने बताइएको छ । परिवर्तन गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेटमा स्थानीय मदिरा (रक्सी) ब्रान्डिङ अध्ययन अनुसन्धान भनेर रु.१५ लाख रकम छुट्याइएको छ ।