काठमाडौं : पोल्याण्डलगायत यूरोपिएन युनियन अन्तरगतका मुलुकहरुमा आकर्षक तलव सहित वैदेशिक रोजगारी उपलब्ध गराइदिने प्रलोभन देखाई लाखौं रकम असुलेर कतारको दोहा लगेर अलपत्र पार्ने क्रम बढेको छ । यूरोपको रोजगारीको नाममा नेपालीलाई अलपत्र पार्नै क्रम बढेपछि कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले गत शुक्रवार जरुरी सूचना जारी गर्दै युरोपमा रोजगारी र बसोवासका लागि दलालहरुको भर परी लाखौं रकम बुझाउने युवाहरुलाई सचेत रहन आग्रह गरेको छ ।
विगतदेखि नै कतारको आजाद भिसाको धन्दा चलाउँदै आएका दलालहरुले कतारको भिजिट भिसामा जानेहरुले तीनमहिना देखि छ महिनासम्म कुर्दा समेत रोजगारी नपाएपछि आजाद भिसामा जाने चाहनामा केही कमी आएपछि दलालहरुले यूरोपको सपना देखाई ठग्न थालेको विश्लेषण नेपाली दूतावासका अधिकारीहरुको छ ।
दूतावासको विज्ञप्तिमा हालैका दिनहरुमा केही व्यक्तिहरुले नेपालबाट पोल्याण्ड लगायतका यूरोपेली मुलुकहरुमा पठाइदिने भनी नेपाली नागरिकहरुलाई कतार ल्याई अलपत्र पारेको र ठूलो रकम असूल गरी सम्पर्कमा नरहने गरेको गुनासो आएको उल्लेख छ । दूतावासले विज्ञप्तिमा अगाडि भनेको छ, ‘नेपालबाट कुनै तेश्रो मुलुक जानका लागि कतार गइरहनुपर्ने अवस्था छैन भने कतारको वर्किङ भिसा प्राप्त गरेको अवस्थामा अन्य तेश्रो मुलुक जान नपाइने प्रावधान समेत रहेको छ ।
यस्तो अवस्थामा केही व्यक्तिले नेपाली नागरिकहरुलाई आकर्षक जागिरको प्रलोभन देखाई पोल्याण्ड लगायत यूरोपेली मुलुक पुर्याउने नाममा ठुलै मात्रामा रकम असूल गरिरहेको वुझिन आएको हुँदा कसैको सम्पर्कमा यस्ता व्यक्तिहरु आएमा त्यस्ता व्यक्तिहरुको भनाइमा विश्वास नगर्न सवैकौ जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
नेपालले कडाई गरेपनि मानव तस्कर गिरोहले नेपाली युवायुवतीहरुलाई विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मुलुक पुर्याउँदै आएका छन् । यसअघि मानव तस्कर गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार नाकाबाट यूएई तथा कतार लगेर त्यहाँबाट कुवेत लगायत खाडी र अफ्रिकी मुलुक पुर्याउने गरेको सार्वजनिक भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies