चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । दक्षिणी छिमेकी मुलुकका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक वार्ता सकेर काठमाडौं आएका सी राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । २३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको यो भ्रमणलाई नेपालले बडो उत्सुकताका साथ हेरे भने विश्व जगतले पनि आ–आफ्नै दृष्टिकोणका साथ नजिकबाट नियालेका छन् ।
सीको भ्रमण र चिनियाँ सरकारले अगाडि बढाएको बेल्ड एण्ड रोड इनिसियटिभ (बीआरआई) प्रति भने नेपालमा राष्ट्रिय सहमति नै जुटेको थियो । विश्व महाशक्ति राष्ट्र चीनका राष्ट्रपति सीले पनि नेपालको राजकीय भ्रमणका क्रममा नेपालका शीर्ष नेताहरुलाई नै भेटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुलाई सरकारी तवरमा भेटवार्ता गरे । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल सहित शीर्ष नेताहरुलाई समय दिएका थिए । सीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई त आएकै दिन शनिबार साँझ भेटवार्ता गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राति दिएको रात्रिभोजमा नेपालका अधिकांश शीर्ष नेताहरुको सहभागिता थियो । उक्त रात्रिभोजकै क्रममा सीले थुप्रै घोषणा गरेका छन् । विशेषगरी सीले नेपालको भूपरिवेष्ठित मुलुकबाट भूजडित हुने चाहना पूरा गर्न तयारी रहेको घोषणा गरे । यसले धेरै नेपालीको मन छोएको छ । किनभने, नेपाल सधैं दक्षिणी छिमेक तर्फको नाकातर्फ निर्भर छ । बेला–बेला भारतले लगाउने नाकाबन्दीले आजित बनेका नेपालीका लागि सीको घोषणा महत्वपूर्ण नै थियो ।
यसबाहेक चीनले उत्तरी नाकाहरु खोल्ने बारे विभिन्न समझदारीमा सहमति जनाएको छ । सीको उपस्थितिमा सम्पन्न १८ वटा समझदारीपत्रले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध बिस्तारमा ठूलो सहयोग पुग्ने आशा गरिएको छ ।
उसो त नेपालमा चिनियाँ लगानीका भौतिक संरचना धेरै बनिसकेका छन् । ती परियोजना उदाहरणीय नै रहेकाले थप सहयोगको चाहना नेपालले गरेको छ । यस पटक उत्तरी नाकाहरुको भौतिक पूर्वाधार विकास, काठमाडौंसम्म रेल जोड्न संभावना अध्ययन, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय लगायतमा चीनले चासो देखाएको छ । सीको उपस्थितिमा हुने सहमतिमा चिनियाँ पक्ष प्रतिबद्ध भएकाले पनि यस पटकको सीको भ्रमणलाई नेपालले बहुआयिमक मानेको छ । यस बाहेक दुई छिमेकी बीचको ऐतिहासिक सम्बन्ध कायम राख्न समेत यसले ठूलो बल पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies