२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

बाढीपहिरो : काभ्रेका ९२ विद्यालयमा क्षति

Nada
२०८१ असोज २० गते १०:४३
Shares
बाढीपहिरो : काभ्रेका ९२ विद्यालयमा क्षति

काभ्रेपलाञ्चोक : गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ ।

ncell

अविरल वर्षाका कारण बाढिपहिरो आएदेखि विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ भने विद्यालयले अर्को सूचना जारी नगरेसम्म क्षतिग्रस्त विद्यालयबाट पठनपाठन नगराइने सार्वजनिक सूचनामार्फत जानकारी गराएका हुन् ।

एकाइ प्रमुख देवकी ढकालले बाढीपहिरोबाट जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १० र तेमाल गाउँपालिकामा सात विद्यालयमा क्षति पुगेको छ ।

त्यस्तै, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा १३, चौँरीदेउराली गाउँपालिकामा १४, बनेपा नगरपालिकामा तीन, खानीखोला गाउँपालिकामा चार र मण्डनदेउपुर नगरपालिकामा छ विद्यालयमा क्षति पुगेको छ । 

उनका अनुसार बाढीपहिरोबाट विद्यालयमा धेरै क्षति पुगेको स्थानीय तह रोशी, पनौती र बेथानचोक हुन् । 'रोशी, पनौती र बेथानचोकका अधिकांश विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ती विद्यालय तत्काल सञ्चालन गर्नसक्ने अवस्था छैन,' उनले भनिन् । 

एकाइका अनुसार बाढीपहिरोका कारण पनौतीमा तीन, रोशीमा दुई, तेमालमा दुई र धुलिखेलमा एकजना विद्यार्थीको मृत्यु भएको छ । एकाइ प्रमुख ढकालले उनले जिल्लाका क्षतिग्रस्त विद्यालय के–कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारे सरोकार भएका निकायसँग समन्वय गरेर मात्र निक्र्यौल गरिने बताइन् । 

रोशी–९ मङ्गलटारस्थित मङ्गल जनविजय माध्यमिक विद्यालय पूर्ण रूपमा क्षति भएको प्रधानाध्यापक बासु थापाले बताए । उनले भने, 'विद्यालयको संरचनामा क्षति पुगेको छ, बाढीले क्षति पुर्‍याएपछि सूचना जारी गरेर विद्यालय बन्द गरिएको छ, विद्यालयलाई पुरानै संरचनामा नफर्काएसम्म पठनपाठन सुर गर्ने सम्भावना देखिदैन ।' उनका अनुसार विद्यालय पुनःनिर्माण गर्न दुई करोड लाग्नेछ । 

बाढीपहिरोले क्षति पुर्‍याएको जिल्लाको दुई स्थानीय तह नमोबुद्ध नगर र महाभारत गाउँपालिकाको विद्यालयमा पुगेको क्षतिको विवरण आइनपुगेको ढकालले जानकारी दिए । सडक अवरुद्ध भएको तथा विद्युत् सञ्चालनमा नआएकाले ती तहका विद्यालयमा के–कति क्षति भयो भन्नेबारे यकिन विवरण सङ्कलन गर्न नसकिएको उनले बताए ।

सरकारले शुक्रबार तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेमध्ये काभ्रेपलाञ्चोकको रोशी, तेमाल, बेथानचोक, चौँरीदेउराली र महाभारत गाउँपालिका तथा पनौती, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका छन् । जिल्लाको १३ स्थानीय तहमध्ये पाँचखाल नगर, महाभारत र खानीखोला गाउँपालिकाबाहेक १० तहमा पछिल्लो विवरणानुसार बाढीपहिरोमा परी ७२ जनाले ज्यान गुमाएका छन् । पाँच जना अझै बेपत्ता छन्भने ७५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
मृतकमध्ये पनौतीमा एक विदेशी नागरिक तथा रोशी गाउँपालिकामा एक रामेछापकी महिला रहेका छन् । सोबाहेक घटनामा हालसम्म ३१ महिला, २५ पुरुष, आठ बालक र छ बालिकाको मृत्यु भएको छ । बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारका लागि जिल्लास्थित स्थानीय तहलेसमेत राहत रकम घोषणा गरेका छन् । बाढीपहिरोले सयौँ परिवार घरबारविहीन भएका छन् । क्षतिग्रस्त भएका विभिन्न सडकमा यातायात सेवा अझै भएको अवरुद्ध छभने प्रभावित क्षेत्र विद्युत् र सञ्चारविहीन अवस्थामा रहेका छन् । 

ताजा खबर

सम्बन्धित खबर