काठमाडौँ : नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नियुक्ति आज हुँदैछ । नियुक्तसँगै शपथ पनि आजै हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे निर्धारण गरिएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकाश भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषद्को बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो । राउत साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् ।
नयाँ प्रधानन्यायाधीश राउतलाई वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले स्वागत गर्ने छिन् । राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन् ।