काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैंक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुई करोड रुपैयाँको चेक हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपालको पहिलो बैंकका रुपमा रहेको नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न सो चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानूनअनुसार काम गर्न पनि आग्रह गरे ।
यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाख रुपैयाँको चेक हस्तान्तरण भएको थियो ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी रहेको छ ।