काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा सक्रिय योगदान गर्न गैरआवासीय नेपालीलाई आह्वान गरेकी छिन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा उपयुक्त वातावरण बनेकाले ढुक्कका साथ लगानी गर्न आग्रह गरिन् ।
राष्ट्रपति भण्डारीले नेपालमा विकसित हुँदै गइरहेको सहज र अनुकूल वातावरणमा संसारभरि आर्जेका ज्ञान, सीप अनुभव र उद्यमशीलतालाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । उनले व्यक्तिगत तथा सामूहिक लगानीमार्फत समुन्नत नेपाल निर्माणको महाअभियानमा सहभागी हुन गैरआवासीय नैपालीलाई आग्रह गरिन् ।
“पूर्वाधार विकास, कृषिको आधुनिकीकरण एवं व्यवसायीकरण, औद्योगिकीकरण र आर्थिक समृद्धि अहिलेको हाम्रो साझा प्राथमिकता हो । सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय साझा आकाङ्क्षा पूरा गर्ने दिशातर्फ केन्द्रित छन्, विकास र समृद्धिको यो यात्रा एउटा अभियानका रुपमा अघि बढिरहेको छ”, उनले भनिन्, “गैरआवासीय नेपालीले नेपालमा गर्ने लगानीलाई थप प्रोत्साहन र सहजीकरण गर्न सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको छ ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्याससहित नेपाल अहिले आर्थिक सामाजिक विकासको युगान्तकारी चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्व, दिगो शान्ति र स्थिरता कायम भएको बताइन् ।
नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग र उपयोग गर्ने गरी गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै उनले यो संवैधानिक व्यवस्थालाई व्यवहारमा उतार्न गैरआवासीय नेपालीसम्बन्धी नयाँ ऐन र नागरिकता ऐनलाई संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको बताइन् । उनले आगामी दिनमा गैरआवासीय नेपालीलाई ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies