-रत्न प्रजापति
वैदेशिक रोजगारीमा जानेहरूको संख्या र रेमिट्यान्समा लगातार गिरावट आएपछि अर्थतन्त्रमा संकट उत्पन्न हुने चिन्ता बढेको छ । संकटको बेलामा पनि रेमिट्यान्सले नै अर्थतन्त्रलाई टेको दिने काम गरिरहेको अवस्थामा रेमिट्यान्समा निरन्तर गिरावट आउँदा अर्थतन्त्रमा गम्भीर असर पर्नु स्वाभाविक हो । अर्थतन्त्रमा पार्ने असरलाई न्यून गर्ने विकल्पहरू तयार नगर्ने हो भने अर्थतन्त्र दुर्घटनामा पर्नसक्छ ।
मुलुकको आठौं पञ्चवर्षीय योजनादेखि वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकहरूको खोजी र प्रक्रियालाई महत्व दिन थालिएको र त्यसपछिका योजनाहरूमा पनि वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकहरूको पहिचान, पहल र विविधीकरणका प्रयासहरू गरिंदै आएको फलस्वरूप एकातिर वैदेशिक रोजगारीमा जानेहरूको संख्या ह्वात्तै बढेको हो भने त्यसवापत प्राप्त रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पनि पुर्याउँदै आएको छ ।
सरकारी तथ्यांकअनुसार अहिले विदेशमा काम गर्ने नेपाली कामदारको संख्या झन्डै ४३ लाख ७९ हजार पुगेको छ । हरेक वर्ष बढ्दै गएको यो आंकडा यो संख्या नेपालको कुल जनसंख्याको झन्डै १७ प्रतिशत हो । अवैध मार्गबाट जाने कामदारको संख्या यसमा समावेश भएको छैन । कामका लागि विदेसिने अधिकांश कामदारहरू आवश्यक छन् । पछिल्लो जनगणनाअनुसार नेपालमा १६ देखि ४० वर्ष उमेरका युवाको संख्या १ करोड ६ लाख ८९ हजार ८ सय ४२ छ । यो नेपालको कुल जनसंख्याको ४०.३५ प्रतिशत हो । नेपालको कुल युवा जनसंख्यामध्ये कामका लागि विदेसिने युवाको संख्या झन्डै ४१ प्रतिशत रहेको देखिन्छ । यसरी आर्थिक दृष्टिकोणले सक्रिय युवा अत्यधिक संख्यामा कामका लागि विदेसिँदा मुलुकको आर्थिक क्रियाकलाप निकै प्रभावित हुँदै आएको छ । फलस्वरूप नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि तथा उद्योग दुबै क्षेत्रको योगदान घट्दो क्रममा रहेको छ । अहिले कृषिको योगदान ३१.२ प्रतिशतमा खुम्चिएको छ भने उद्योगको योगदान पनि ५.५ प्रतिशतमा सीमित हुन पुगेको छ । डेढ दशक अघिसम्म कृषिको योगदान ३६.२ प्रतिशत थियो भने उद्योगको योगदान ९.० प्रतिशत थियो ।
अहिले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्र र रेमिट्यान्सको योगदान झन्डै हाराहारीमा पुगेको छ । पछिल्लो तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान २९.५८ प्रतिशत रहेको छ । राष्ट्रिय अर्थतन्त्रमा रेमिट्यान्सको योगदान बढ्नुलाई सकारात्मक र नकारात्मक दुबै कोणबाट हेर्ने गरिएको छ । संकटको बेलामा पनि नेपाली अर्थतन्त्रलाई बचाउने काम रेमिट्यान्सले नै गरेको हुँदा यसलाई सकारात्मक रूपले हेर्ने गरिएको छ भने रेमिट्यान्सकै कारण अर्थतन्त्र परनिर्भर बन्दै गएकाले यसलाई नकारात्मक रूपमा हेर्दै यो स्थितिलाई चिन्ताको विषय मान्नेहरूको संख्या पनि उल्लेख्य छ । वास्तवमा अर्थतन्त्रमा बढ्दो परनिर्भरता चिन्ताकै विषय पनि हो । यही परनिर्भरताले गर्दा कदाचित् रेमिट्यान्समा उल्लेख्य गिरावट आयो भने नेपालको अर्थतन्त्र गम्भीर दुर्घटनामा पर्नसक्छ । त्यसैले यस्तो परनिर्भरताबाट छिट्टै पार पाउने उपायको अवलम्बन गर्न अर्थविद्हरूले सचेत गराउँदै आएका पनि छन् ।
मुलुकको गरिबी निवारण अभियान र शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रको विकासमा रेमिट्यान्सले उल्लेखनीय भूमिका निर्वाह गरेको भए तापनि वैदेशिक रोजगारीमा समस्या आउनासाथ रेमिट्यान्स प्रभावित हुने र यसले पुनः गरिबीलाई पहिलेको भन्दा गम्भीर अवस्थामा पु¥याउन सक्ने हुँदा रेमिट्यान्सकै कारण अर्थतन्त्रमा निकै ठूलो जोखिम बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार रेमिट्यान्स प्राप्त गर्ने ८०.८ प्रतिशत घरपरिवारलाई रेमिट्यान्सबाहेक अन्य स्रोतबाट मात्रै खर्च धान्न नपुग्ने स्थितिले रेमिट्यान्समाथिको निर्भरता अत्यधिक बढेको देखाएको छ । यसबाट मुलुकको अर्थतन्त्र थप परनिर्भर बनेको देखिन्छ । सोही अध्ययनअनुसार १८.८ प्रतिशत घरपरिवारको आम्दानीको स्रोत रेमिट्यान्समात्रै भएकाले रेमिट्यान्समा समस्या आउनासाथ त्यस्ता घरपरिवारको आर्थिक स्थिति डावाँडोल हुने हुँदा स्वरोजगारी वा स्वदेशमै रोजगारीका लागि राज्यस्तरबाटै पहल हुनुपर्ने खाँचो टड्कारो देखिएको छ ।
विश्व बैंकले केही समयअघि नै नेपालको घट्दो रेमिट्यान्स आप्रवाहको स्थितिलाई विश्लेषण गर्दै भविष्यमा यसरी नै रेमिट्यान्स आप्रवाहमा गिरावट आए अर्थतन्त्र प्रभावित हुन सक्ने चेतावनी दिइसकेको छ । रेमिट्यान्स आप्रवाहमा आउने गिरावटले आर्थिक वृद्धिदरमा समेत ह्रास आउने विश्लेषण विश्व बैंकले गरेको थियो । बैंकले रेमिट्यान्स आप्रवाहमा १०.० प्रतिशतले गिरावट आउँदा कुल गार्हस्थ्य उत्पादनमा ३.० प्रतिशतसम्मको ह्रास आउनसक्ने प्रक्षेपण पनि गरेको थियो । यो विश्लेषणले पनि नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको र रेमिट्यान्समा समस्या आउँदा अर्थतन्त्र निकै जोखिममा पर्नसक्ने सम्भावना औंल्याएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा आएको कमीलाई आधार मानेर गरिएको यस्तो प्रक्षेपणले रेमिट्यान्सको विकल्पको विकास गर्न पनि सुझाएको देखिन्छ ।
पछिल्लो पटक लगातार दुई आर्थिक वर्षसम्म कामका लागि विदेसिने नेपाली कामदारको संख्यामा कमी आएको छ । भूकम्पअघि र पछिका दुई आर्थिक वर्षमा कामका लागि विदेसिने नेपाली कामदारको संख्यामा कमी आएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा कुल ५ लाख २७ हजार ८ सय १४ नेपाली कामदार कामका लागि विदेसिएकामा आर्थिक वर्ष २०७१÷७२ मा ५ लाख १२ हजार ८ सय ८७ जनामात्रै विदेसिएका छन् । यसैगरी आर्थिक वर्ष २०७३÷०७४ मा ४ लाख १८ हजार ७ सय १३ नेपाली कामदारमात्रै कामका लागि विदेसिएका छन् । यसरी यी दुई आर्थिक वर्षमा कामका लागि विदेसिने कामदारको संख्यामा क्रमशः २.८३ प्रतिशत र १८.३६ प्रतिशतले कमी आएको छ ।
यसैगरी रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा पनि कमी आएको छ । आर्थिक वर्ष २०७२÷०७३ मा रेमिट्यान्स आप्रवाहको वृद्धिदर १३.६२ प्रतिशत थियो भने आर्थिक वर्ष २०७३÷०७४ मा यस्तो वृद्धिदर ७.७४ प्रतिशतमा खुम्चिएको छ ।
अघिल्लो वर्ष सोही अवधिमा ३९ हजार ९ सय १९ नेपाली कामदार कामका लागि विदेसिएकामा यस वर्ष उक्त अवधिमा ३४ हजार ७ सय ५९ जनामात्रै विदेसिएका छन् । यसै गरी रेमिट्यान्स आप्रवाहको वृद्धिदर पनि सो अवधिमा ६.६ प्रतिशतमा सीमित हुन पुगेको छ । अघिल्लो वर्ष सो अवधिमा रु. १ खर्ब ७ अर्ब ६६ करोड ८४ लाख रेमिट्यान्स आप्रवाह भएकोमा यो वर्षको सो अवधिमा रु. १ खर्ब १४ अर्ब ७३ करोड ९८ लाखमात्रै रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स आप्रवाहको वृद्धिदर २६.३ प्रतिशत थियो । यी आँँकडाहरूको आधारमा भन्नुपर्दा अर्थतन्त्रलाई टेको प्रदान गर्दै आएको रेमिट्यान्स आफैं क्रमशः कमजोर बन्दै गएको देखिन्छ ।
वैदशिक रोजगारीका कारण रेमिट्यान्स आप्रवाहमा वृद्धि भएसँगै उपभोगमा मात्रै वृद्धि भएको, उपभोगमा वृद्धि भएकाले वस्तु आयातमा दबाब परी व्यापारघाटामा वृद्धि भएको, आन्तरिक उत्पादनमा ह्रास आउन थालेको, विलासी जीवनप्रति मानिसहरू बढी आकर्षित भएको, वैदेशिक रोजगारीमा गएको एक जना व्यक्तिप्रति सिंगै परिवार आश्रित हुन थालेको जस्ता समस्या देखिन थालेका छन् । सामाजिक मर्यादाको उल्लंघन भई उच्छृंखलता बढेको, पारिवारिक विखण्डन बढेको, रेमिट्यान्सको सदुपयोग हुन नसकेको, थप पुँजी निर्माणमा रेमिट्यान्सले योगदान गर्न नसकेको, रेमिट्यान्सकै कारण आर्थिक जोखिम बढ्दै गएको आदि कारणले क्रमशः वैदेशिक रोजगारीप्रति नकारात्मक धारणाको विकास हुन थालेको समेत पाइन्छ । यसले गर्दा भविष्यमा वैदेशिक रोजगारीका सन्दर्भमा अहिलेकै स्थिति नरहने र वैदेशिक रोजगारीप्रतिको आकर्षण क्रमशः घट्ने देखिन्छ । त्यो अवस्थामा रेमिट्यान्सको विकल्पको विकास गरिएन भने अर्थतन्त्र निकै ठूलो जोखिममा पर्न सक्नेतर्फ अहिले नै ध्यान पुर्याउनु आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies