
दोहा, कतार : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको चौथो अधिवेशन खुला र बन्द गरी दुई चरणमा नयाँ कार्यसमिति चयन गर्दै शुक्रबार सम्पन्न भएको छ । अधिवेशनको बन्द सत्रबाट कृष्ण ढकाल (स्याङ्जा)को अध्यक्षतामा ३ वर्षे लामो एक कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।
समितिको प्रथम उपाध्यक्ष कृष्ण दर्लामी (पर्वत), द्वितीय उपाध्यक्ष गोविन्द कटुवाल (सुनसरी), महिला उपाध्यक्ष रेश्मी सेन्चुरी (दाङ), सचिव प्रकाश दर्नाल (रामेछाप), महिला सचिव लक्ष्मी कार्की (धनकुटा), सहसचिव बाबु कौशल (बागलुङ), कोषाध्यक्ष गोकुलप्रसाद सापकोटा (कपिलवस्तु) र सहकोषाध्यक्ष पुकार थापा (स्याङ्जा) रहेका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा क्रमशः राजन परियार (बागलुङ), संगीत वि.सी (महोत्तरी), श्याम पाण्डे (चितवन), नारायण देवकोटा(रुपन्देही), नयन शर्मा (कास्की), प्रताप मुस्कान (भोजपुर) सन्तोष विश्वकर्मा (सिराहा), लक्ष्मी प्रसाद सापकोटा (इलाम), बिसन वि.सी (बागलुङ), देव बहादुर विश्वकर्मा (पर्वत), जमुना बि.सी (चितवन), गंगा वि.सी (चितवन), सोम विश्वकर्मा (तनहुँ) तारा वि.सी (बागलुङ), खड्ग बस्नेत (संखुवासभा) र गीता भट्टराई (काठमाडौं) रहेका छन् ।
कतारको अलत्तियास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा अधिवेशनको खुला सत्र शाखाका अध्यक्ष शिवराम ढकालको सभाध्यक्षता तथा शाखा कतारकै संस्थापक अध्यक्ष कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहित नेपाली गीत संगीतलाई माया गर्ने सयौं नेपालीहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनमा बोल्ने वक्ताहरूले शाखा कतार वैदेशक शाखामा उत्कृष्ट रहेकोमा बधाई दिँदै उत्कृष्ट कार्यसम्पादन गरे पनि आर्थिक मामिलामा कमजोर देखिएको हुँदा सुधार गर्न सुझाव दिए । गीत संगीतको श्रीवृद्धिका लागि खट्ने कलाकारले संस्थाको हितका लागि आर्थिक जोहो गर्नुपर्ने हुँदा संस्थाको कोषबाट अतिरिक्त तथा सामान्य शीर्षकमा देखिएका खर्चलाई नयाँ कार्यसमितिले नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए ।
थुप्रै कलाकारले सांगीतिक प्रस्तुति दिएको अधिवेशनमा प्रत्यक्ष दोहोरीसमेत गाइएको थियो । अधिवेशनमा आफ्ना धारणा राख्दै प्रमुख अतिथि बरालले वैदेशिक शाखालाई केन्द्रले प्रदान गरेको अधिकार चित्त बुझ्दो नभएको बताए । प्रवासबाट फर्केपछि होस् या कार्यकाल सकिएपछि शाखाको नेतृत्व गरेको अध्यक्षको पहिचान नै सकिने हुँदा कम्तीमा वैदेशिक शाखाका अध्यक्षहरूलाई निःशुल्क आजीवन सदस्यता प्रदान गर्नुपर्ने धारणा राखे । बरालले नेपालका जिल्लामा रहेको प्रतिष्ठानमा पनि गुटबन्दी रहेको आफूले पाएको बताउँदै वैदेशिक शाखालाई विधानतह नै सर्वसम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रतिष्ठान कतारमा आबद्ध कलाकारले स्वागत गीतद्वारा स्वागत गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष कृष्ण ढकालले स्वागत मन्तव्य राखेका थिए । सचिव कृष्ण दर्लामीले सहजीकरण गरेको अधिवेशनको खुला सत्रको समापन गर्दै सभाध्यक्ष ढकालले तीन वर्षे लामो कार्यकालमा कतारमा संस्थागत सहकार्य गर्न आफूले कुनै कसर बाँकी नराखेको बताउँदै नयाँ कार्यसमितिले पनि नेपाली मौलिक गीत संगीतको श्रृवृद्धिमा लाग्ने विश्वास व्यक्त गरे । उनले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्नेप्रति आभार व्यक्त गरे ।