काठमाडौं : दशैंमा घर जानेहरूका कारण उपत्यकाबाट बाहिरिने चोक र बसपार्कमा यात्रुहरूको ताँती लागेको छ । प्रहरीका अनुसार संघीय राजधानी काठमाडौं छोडेर घर जानेको संख्या दिनहुँ बढ्दो छ । दशैंका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोंगबुको रहेको नयाँ बसपार्कमा घुइँचो लागेको छ ।
दशैंको आगमनसँगै विभिन्न कामका लागि राजधानी रहेकाहरू दशैं सुरु भएसँगै घर फर्किन थालेका हुन् । यसले कारण बालाजुस्थित नयाँ बसपार्कमा चहलपहल निकै बढेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट बसमा, मोटरसाइकलमा काठमाडौं उपत्यकाबाट बाहिरिनेको संखया उच्च छ । घटस्थापना सुरु भएसँगै विद्यालयमा बिदा सुरु हुन थालेपछि गाउँ फर्किनेहरू बढेका हुन् । नयाँ बसपार्कमा गाउँ फर्कनेहरुको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यात्रुहरुको भीड बढेसँगै नयाँ बसपार्कमा हेल्प डेक्स स्थापना गरी यात्रुलाई सहज रुपम यात्रा गराउन थालिएको छ ।
दशैं मनाउनका लागि कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौंका नाकामा सवारीको चाप बढ्दै गएको प्रहरीले जनाएको छ । काठमाडौंको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यात्रुको भीड र सवारी साधनको चाप बढेपछि राजधानी काठमाडौं छिर्ने र बाहिरिने नाकामा सवारी जाम बढ्न थालेको छ । दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने र घर जानेको सङ्ख्या बढ्दै गएको हो । वर्षाका कारण बाटोको अवस्था खराब छ, तैपनि घर जाने यात्रुले गाडी भरिभराउ भएका छन् ।
चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । यस अन्तर्गत चार हजार प्रहरी परिचालित गरिएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न देशभर प्रहरी परिचालन गरिएको हो ।
चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइएको छ ।
चाडपर्वका समयमा जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी विभिन्न आपराधिक घटना हुनेसक्ने, सवारी दुर्घटनाका घटना, बैंक तथा वित्तीय संघसंस्थालगायत क्षेत्रमा हुने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, पाकेटमारीजस्ता आपराधिक गतिविधि कम तथा निरुत्साहित गर्ने उद्देश्यले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ ।
भवितव्य वा आकस्मिक रुपमा कुनै घटना घट्दा परिचालित प्रहरी जनशक्ति अपुग भएमा रिजर्भ टोलीले सहयोग गर्ने योजना छ । मोबाइल गस्ती टोलीमा, मोटरसाइकल गस्तीमा, पैदल गस्तीअन्तर्गत गस्तीमा, तत्काल प्रतिकार्य टोली (क्युआरटी) परिचालन गरिएको छ । लामो तथा छोटो दूरीको एक सय गस्तीमा, स्ट्राइकिङ नौ स्थानमा र मातहत प्रहरी अनुगमनमा प्रहरी परिचालन गरिएको छ ।