रौतहट : रौतहटको मौलापुर नगरपालिकाले नेपाल विद्युत प्राधिकरण मौलापुर शाखामा १ करोड ५० लाख रुपैयाँ बुझाएको छ ।
घरायसी प्रयोजन तथा कृषि विद्युत महसुल नि:शुल्क गर्ने नगरपालिकाको घोषणालाई कार्यान्वयन गर्न मौलापुरले उक्त रकम बुझाएको हो । मौलापुरकी मेयर रिना कुमारी साहले प्राधिकरण प्रमुख राम दिनेश यादवलाई १ करोड ५० लाखको चेक हस्तान्तरण गरेकी छन् ।
आर्थिक वर्ष २०८०/०८१ को नगरपालिका क्षेत्रभित्र कृषि तथा घरायसी प्रयोजनको विद्युत महसुल मौलापुर नगरपालिकाबाट व्यहोर्ने प्रतिबद्धता भएअनुरुप विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख यादवलाई १ करोड ५० लाख रकमको चेक हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।
मौलापुर नगरपालिकाले ‘फ्रि बिजुली, फ्रि पानी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । झण्डै ७ वर्षदेखि जनताको घरायसी मिटर र कृषि मिटरको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको छ ।