२०८१ मंसिर १२ गते बुधवार / Nov 27 , 2024 , Wednesday
२०८१ मंसिर १२ गते बुधवार

बिपी राजमार्ग : चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण

ADV
मध्यान्ह
२०८१ असोज २२ गते २१:३६
बिपी राजमार्ग : चौकी डाँडामा एकतर्फी अस्थायी सडक निर्माण

काभ्रेपलाञ्चोक : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ सीमास्थल चौकीडाँडामा रोशी खोलाको बाढीले दुई सय मिटर सडक बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुने गरी निर्माण गरिएको छ । रोशी खोलाको बहावलाई सोझ्याएर खोला किनारमा अस्थायी रुपमा यातायात सञ्चालन हुने गरी निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो । 

पाँच दिनको अवधिमा उक्त स्थानमा एकतर्फी सवारीसाधन सञ्चालन हुने गरी स्थायी सडक निर्माण गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरी पाँच दिनमा सोमबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको उनले बताए ।

‘रोशी खोलादेखि करिब २० देखि ५० मिटरसम्म उचाइमा अवस्थित उक्त स्थानको सडक तलसम्म नै कटान भएको थियो । चौकीडाँडामा एकतर्फी सडक सञ्चालनमा ल्याएका छौँ,’ कार्यालय प्रमुख योगेशले भने । खोलाको बहाव नघट्दा ‘क्रस–डाइभर्ट’ गर्न सजिलो र छिटो तरिका अपनाउन नसकिएको उनले बताए ।

अविरल वर्षाका क्रममा यही असोज १२ गते शनिबार उक्त स्थानमा सडकसम्पर्क टुटेपछि रोशी गाउँपालिकाका विपद्पीडित तथा राजमार्ग हुँदै मध्यपहाडी क्षेत्र एवम् पूर्वी तराईबाट आएका यात्रु अलपत्र परेका थिए । त्यसको भोलिपल्टदेखि हेलिकप्टरमार्फत उद्धार थालिएको थियो । 

विभिन्न स्थानमा बाढीले सडक अवरुद्ध बनाएपछि उक्त राजमार्गमा रोकिएका सवारीसाधन सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेसी र सिन्धुलीको नेपालथोकबाट तेमालको सडक मर्मत गरी दुई दिनअघि सञ्चालनमा ल्याइएको थियो । ‘कार्यालयले उक्त राजमार्ग सञ्चालनार्थ काभ्रेतर्फबाट चार मेसिन प्रयोग गरेको थियो भने सिन्धुलीको नेपालथोकबाट काभ्रेपलाञ्चोकतर्फ पाँच डोजरलगायत मेसिन प्रयोग गरेको थियो । जनकपुरबाट आएका पाँच मेसिनबाट मंगलटार र नार्केसम्म बाटो मर्मत गरेर केही सवारीसाधनलाई नेपालथोक हुँदै सिन्धुलीतर्फ नै फर्काएको थियो,’ कार्यालय प्रमुख योगेशले भने ।

योगेशका अनुसार भकुण्डेदेखि नेपालथोकसम्मको सडक के–कति क्षति भयो भन्ने एकिन तथ्यांक नआए पनि २९ मिलोमिटरको यस दुरीमा करिब दुई किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त रहेको अनुमान छ । यस्तै राजमार्गको कूल एक सय ६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकका विभिन्न स्थानमा बढी क्षति पु¥याएको कार्यालयले जनाएको छ । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले राजमार्ग सडक निर्माण गर्दा प्रति किमी रु ३५ करोड लागत थियो । उक्त रकम हालको हिसाबमा रु ५० करोडभन्दा माथि पर्नेछ । क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानमा भएको क्षतिको मूल्यांक गर्दा रु दुई अर्बभन्दा माथिको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको थियो । अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड भने असोज १४ गतेदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ । 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य शुरु गरिएको थियो । विभिन्न खण्डमा विभाजन गरी निर्माण भएको सडक विसं २०७२ असार १८ गते औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । तत्कालीन अवस्थामा जापान सरकारको २६ बिलियन जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise