२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

बुद्धसिंह मार्गको नाल्दीघाटको पहिरो अझै हटेन

Nada
२०८१ असोज २३ गते १४:२१
Shares
बुद्धसिंह मार्गको नाल्दीघाटको पहिरो अझै हटेन

तनहुँ : तनहुँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाटको पहिरो पन्छ्याउन ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । यही असोज ११ र १२ गतेको वर्षापछि आएको पहिराले बुद्धसिंह मार्गका दर्जनौँ ठाउँमा सडक अवरुद्ध भएको थियो ।

ncell

अधिकांश ठाउँका पहिरा पन्छ्याइए पनि बन्दीपुर गाउँपालिकास्थित नाल्दीघाटको पहिरो पन्छ्याउन ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेपेका हुन् । पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्युघर लगायतका स्थानमा सडक अवरोध भएको थियो ।

तीमध्ये नाल्दीको बाहेक अन्य पहिरो हटाइएको बुद्धसिंह मार्ग सरोकार समिति संयोजक सिद्धान्त थापा मगरले जानकारी दिए । नाल्दीको पहिरा हटाउन पटक–पटक माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो छ । पूर्वाधार विकास कार्यालयले चेन डोजर नभएको हुँदा पहिरो हटाउन नसकिएको जवाफ दिएको उनले उल्लेख गरे । 

नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का जनता मारमा छन् । उक्त सडकको पहिरा पन्छ्याई यातायात सञ्चालन गराउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराइएको उनले बताए ।

गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । सदरमुकाम दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीदेखि सुँढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ ।

दमौलीदेखि सुँढेसम्म करिब १० किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौँसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । 

मूल्य अभिवृद्धि करसहित रु ३४ करोड २७ लाख ५४ हजार ५६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए। उनका अनुसार उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । 

चितवनको घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोर्‍याएर मुग्लिङ–नारायणगढ सडकसम्म ल्याउन सकिने जनाइएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे आँबुखैरेनी मुग्लिङ हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्छ ।

ताजा खबर

सम्बन्धित खबर