काठमाडौँ : घटस्थापनादेखि आज बुधबार बिहान ६ बजेसम्म ५ लाखभन्दा बढी मान्छेले काठमाडौँ छाडेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका अनुसार बुधबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार ५ लाख ६ हजार ५२५ जनाले काठमाडौँ उपत्यका छाडेका हुन् ।
यो सडक मात्रैबाट काठमाडौँ छाड्ने यात्रुहरूको विवरण हो । दशैंको अवसरमा घर फर्कने यात्रुहरूलाई लक्षित गरेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन समेत गरेको छ ।
टिकटमा हुने कालोबजारीदेखि नाका नाकामा ट्राफिक खटाएर भाडादर समेत अनुगमन गरिएको छ । बढी भाडा असुल्ने गाडीहरूलाई कारबाही समेत तिव्र पारिएको प्रहरीले जनाएको छ ।
मंगलबारसम्म मात्रै बढी भाडा लिएको आरोपमा ३१ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको छ ।
यसका साथै हवाईमार्गबाट पनि यो पटक उत्तिकै यात्रुहरू काठमाडौँबाट बाहिरिएका छन् ।
मुख्य गरी पूर्वी नेपालको मुख्य राजमार्ग वीपी हाईवे बाढी पहिरोका कारण अवरुद्ध भएपछि हवाई मार्गबाट उपत्यका छाड्नेहरूको संख्या पनि उल्लेख्य छ ।