काठमाडौं : राजनीतिक दलहरुले यो वर्ष दशैं, तिहार एवम् छठको अवसरमा आयोजना गरिदै आएको चियापान नगर्ने भएका छन् । दलहरुले बक्तव्य नै जारी गरेर चियापान कार्यक्रम नराखिएको जानकारी दिएका हुन् ।
‘यस वर्ष विगतका वर्षमा मनाउने गरिएको चाडपर्व लक्षित शुभकामना आदान–प्रदानका कार्यक्रम नगर्ने र सम्पूर्ण पंक्ति बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रीत गर्ने’ माओवादीको बक्तव्यमा भनिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले चियापानको साटो बिपद्को उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
माओवादी केन्द्रकै जस्तो निर्णय नेपाली कांग्रेस, नेकपा एमाले लगायत दलहरुले पनि गरेका छन् । कांग्रेसको केन्द्रीय कार्य समिति बैठकबाटै चियापान कार्यक्रम नगर्ने निर्णय भएको थियो । अघिल्ला वर्षहरुमा कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने गरेको थियो ।
कांग्रेसको चियापान भन्दा अघिपछि पारेर एमाले, माओवादी केन्द्र, राप्रपा लगायतले चियापान गर्दै आएका थिए । तर यसपटक कुनैपनि दलले चियापान नगर्ने भएका छन् । एमालेले सचिवालय बैठक राखेरै चियापान कार्यक्रम रद्ध गरेको थियो ।
गत ११ असोजमा बाढी पहिरो र डुबानका कारण झण्डै अढाइ सय नागरिकको मृत्यु भयो । ठूलो संख्यामा बेपत्ता र घाइते भए । सरकारकै मूल्यांकन अनुसार १७ अर्ब बराबरको क्षति भएको छ ।
राजधानी उपत्यकाका सहित सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, मकवानपुर, चितवन, ओखढलढुंगा लगायत जिल्लामा क्षति पुगेको छ । दशैंकै मुखमा बाढी पहिरोबाट ठूलो मानवीय एवं भौतिक क्षति भएकाले दलहरुले चियापान कार्यक्रम रद्ध गरेका हुन् ।
चियापान रद्ध गरेर सबै दलले पीडितको उद्धार, राहत वितरण र पुनस्र्थापना कार्यमा खटिन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् । कांग्रेस र एमालेले पार्टीका तर्फबाट ५०/५० लाख रुपैयाँ उद्धार कोषमा जम्मा पनि गरेका छन् ।